वासिङटन : अमेरिकामा एक व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण फेरि दोहोरिएको छ । दोस्रो पटकको संक्रमण चिकित्सकहरुका अनुसार धेरै डरलाग्दो छ ।२५ वर्षीय एक पुरुषमा अचानक यसरी संक्रमण दोहोरिएको बताइएको छ । बीबीसीमा प्रकाशित समाचार अनुसार ती व्यक्तिको दुवै फोक्सोमा पर्याप्त अक्सिजन नपुगेपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो।
सामान्यत: कोरोनाभाइरस सङ्क्रमण नदोहोरिने विश्वास गरिन्छ। तर केही अनुसन्धानले के देखाउँछन् भने अति थोरै बिरामीमा संक्रमण दोहोरिन पनि सक्छ । बीबीसीका अनुसार अमेरिकाको दक्षिणपश्चिम राज्य नभाडाका ती युवकमा हालै संक्रमण दोहोरिएपछि ती व्यक्तिमा पुरानो संक्रमण लुकेर पछि देखिएको नभएर दुबै पटक कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
उनीबाट सङ्कलित फरकफरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवंशिक संरचनामा भिन्नता देखिएको बताइएको छ । वैज्ञानिकहरुले पहिले संक्रमण भएको मान्छेलाई फेरि हुनसक्ने सम्भावित संक्रमणबाट जोगाउन सक्ने सम्भावना नहुने बताएका छन् ।
एकचोटि कोभिड-१९ भएर निको भइसकेका व्यक्तिले पनि दूरी, मास्क र हात धुने विषयमा तोकिएका मापदण्ड पालना गर्नुपर्ने सुझाव विज्ञहरुले दिने गरेको बीबीसले जनाएको छ । यस्तै कोरोनाभाइरसको संक्रमण फेरि दोहोरिन थालेपछि वैज्ञानिकहरुले यसलाई चिन्ताजनक भनेका छन् ।