पुश्पेन्द्र अत्रि, च्यवनधाम ।
कुशेऔँशी भाद्र कृष्ण औँशीमा मनाइन्छ र कुश वनस्पति धार्मिक, सामाजिक, वैज्ञानिक र आयुर्वेदिक दृष्टिले पनि महत्वपूर्ण छ। – वेद, महाभारत र मनुस्मृतिमा कुशलाई पवित्रता र यज्ञमा देवता प्रसन्न पार्ने वनस्पति भनिएको छ। – कुशेऔँशीले पितृ स्मरण, परिवार एकता र सामाजिक नैतिकता बलियो पार्छ र वैज्ञानिक रूपमा स्वास्थ्यमा लाभ पनि पुर्याउँछ। स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि । करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
सनातन संस्कृति परम्परामा भाद्र कृष्ण औँशी अर्थात् कुशेऔँशीकै दिन घर घरमा कुश भित्र्याइन्छ, जुन विशेष परम्परा, पहिचान, धार्मिक, सामाजिक, वैज्ञानिक र आयुर्वेदिक महत्त्व भएको बहु उपयोगी वनस्पति हो । देव कार्य होस् या पितृकार्य जन्म देखि मृत्युसम्म कुशको प्रयोग अनिवार्य हुन्छ । कुशको वैदिक परम्परादेखि नै ठूलो महत्त्व रहेको छ । हरेक वर्ष मनाइने यो पर्वले केवल धार्मिक रीतिरिवाजमा मात्र सीमित नभई हाम्रो परम्परा र पहिचानसँग गहिरो सम्बन्ध राख्दछ । वेद तथा धार्मिक ग्रन्थमा कुश ले राम्रो स्थान पाएको देखिन्छ ऋग्वेदमा कुशलाई पवित्र आसन र यज्ञीय वनस्पति भनेर उल्लेख गरिएको छ। मनुस्मृतिमा “दर्भं समिद्धं हविषा विधेम” अर्थात् दर्भ कुशलाई यज्ञमा प्रयोग गर्दा देवता प्रसन्न हुन्छन् भनिएको छ । महाभारतमा (कुशासने स्थितो यः स्यात् सदा स्यात् पुण्यवत्तरः) कुशको आसनमा बस्ने व्यक्ति पवित्र हुन्छन् र पुण्य लाभ पाउँछन् भनिएको छ । गरुड पुराणमा “कुशा धर्मस्य मूर्तिः स्यात्” कुश धर्मको मूर्तरूप हो भनिएको छ । मनुस्मृतिमा उल्लेख छ, “कुश, तिल र जल बिना पितृ तर्पण सफल हुँदैन। यसरी, कुशे औँशी पितृ स्मरणको दिन मात्र नभई धर्म र ऋषि परम्पराको निरन्तरता हो ।
कुशे औँशीलाई “बुबाको मुख हेर्ने दिन” पनि भनिन्छ । यसले हामीलाई बुबा र पूर्वजप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसर दिन्छ । परिवारमा पूर्वज स्मरण, परिवार एकता र पुस्तागत बन्धनलाई मजबुत पार्ने माध्यम हो । विशेषगरी सन्तानले आफ्ना आमाबुबालाई आदरसम्मान गर्ने दिनका रूपमा यसलाई सामाजिक नैतिकताको प्रतीक मानिन्छ । यस दिन पितृ तर्पण, श्राद्ध र सामूहिक भोजको परम्परा छ, जसले सम्मान र सद्भावलाई बल पुर्याउँछ । यद्यपि शास्त्रमा प्रत्यक्ष (विज्ञान) शब्द छैन, तर ऋषिहरूले अनुभवका आधारमा भनेका कुरा आधुनिक विज्ञानसँग मेल खान्छ, जस्तै विद्युत चुंबकीय लहर नियन्त्रण-प्रयोगशालामा गरिएको परीक्षणले देखाउँछ कि कुशको तन्तुले इलेक्ट्रोम्याग्नेटिक तरङ्ग शोषण गर्ने क्षमता राख्छ । कुशद्वारा निर्मित गुन्द्री वा चकटीमा नियमित बस्नाले उच्च रक्तचाप जस्ता धेरै बिरामीलाई निकै लाभ हुने वैज्ञानिकहरूको पनि तर्क छ ।
ज्योतिषीय दृष्टिले यसै दिन सूर्य र चन्द्रमा सिंह राशिमा हुन्छन् । ग्रहको नकारात्मक उर्जालाई हाम्रो शरीरबाट हटाउन कुशपानीले ठुलो मद्दत गर्दछ ।
कुशे औँशी केवल धार्मिक औँशी मात्र होइन, यो परम्परा र पहिचानलाई जोड्ने सांस्कृतिक कडी हो । आगामी दिनहरूमा हामीले कुशलाई घरमा राखे मात्र होइन कुशको महत्त्व र गुण हाम्रो भावी सन्ततिहरूलाई यसबारे सोध, संरक्षण र उपयोग गर्न उत्प्रेरित गर्नुपर्छ । पितृ स्मरण मार्फत कृतज्ञताको संस्कार, कुशको प्रयोग मार्फत स्वास्थ्य र वातावरणीय सन्देश, र परिवार एकतामार्फत सामाजिक मूल्य पुनर्जीवित गर्ने यस पर्वको आवश्यकता आज पनि उत्तिकै छ । यसैले, परम्परा र पहिचान कुशे औँशी अपरिहार्य भन्ने निष्कर्षमा पुग्न सकिन्छ । अस्तु
( लेखक श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीका पुजारी हुनुहुन्छ ।)











