पछिल्लो समय जिल्ला प्रहरी कार्यालय तनहुँले सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ । जस अन्तर्गत बुधबार र बिहीबार प्रहरीले फरार २ जना प्रतिबादिलाई पक्राउ गरेको छ । लागु औषध मुद्दामा फरार रहेका जिल्लाको बन्दीपुर गाउँपालिका–१ बेलभञ्याङका २६ बर्षीय सुवास परियार पक्राउ परेका छन् । गत बर्ष चैत ८ गते देखी फरार रहेका परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार पक्राउ परेका परियार माथि एक महिना कैद र दुई हजार रुपैया जरिवाना लगाएको छ । त्यस्तै गरि जिल्लाकै भानु नगरपालिका–८ देउरालीटारका २६ बर्षीय किरण तामाङ साधाराण चोरी मुद्दामा पक्राउ परेका छन् । बुधबार निजलाई देउरालीटार ठाँउबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । गत बर्ष चैत २३ देखी फरार रहेका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । निज तामाङमाथि १ महिना कैद र ३२ हजार १ सय रुपैयाँ जरिवाना लगाएका छ ।