दुलेगौडा । शुक्लागण्डकी नगरपालिकामा सोमबार ८ जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । अपाङ्गता परिचयपत्र वितरण सम्बन्धि कार्यविधि २०७६ अनुसार क वर्गका तीन जना ,ख बर्गका तीन जना र ग वर्गका २ गरी ८ जनालाई परिचयप्रत्र वितरण गरिएको शुक्लाण्डकी नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले जानकारी दिइन् ।
निर्देशिका बमोजिम पुर्ण अशक्त भएकाहरु क वर्ग, अति अशक्त ख वर्ग ,मध्यम अशक्त ग वर्ग र सामान्य अपाङ्गता भएकाहरुलाई घ वर्गमा समेटिने पोख्रेलले बताइन् । उनका अनुसार क वर्गमा पर्नेहरुलाई सरकारले मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ भने ख वर्गकालाई २ हजार ६६० रुपैयाँ भत्ता दिने गरेको छ । ग र घ वर्गको परिचयपत्र प्राप्त गरेकाहरुलाई लोक सेवा आयोगमा छुट्टै आरक्षण कोटाको व्यवस्था र सरकारी सेवा तथा उपचारमा सौलियतको गरेको छ ।
शाखा प्रमुख पोख्रेलले भनिन् मानसिक ,मनोसामाजिक ,शारीरिक जस्ता अपाङ्गताको पनि विभिन्न रुप हुन्छ, पहिलो चरणमा उहाँहरुको स्वास्थ्य परीक्षण गराई अस्पतालबाट प्राप्त रिपोर्ट अध्ययन गरिन्छ,अपाङ्गता समन्वय समितिमा विशेषज्ञ डाक्टर पनि सदस्य हुनुहुन्छ,त्यसपछि वडाको सिफारिस ,निवेदन ,नागरिकता लगायत आवश्यक कागजात जुटाएर सवै पक्रिया पुरा गरी परिचय पत्र लिन योग्यलाई प्रदान गरिन्छ ।उनले नगरपालिकासम्म आउन नसक्नेको घरमै पुगेर परिचयपत्र समेत प्रदान गरिने बताइन् ।उनका अनुसार शुक्लागण्डकी नगरपालिकामा पुर्ण अशक्त १६७ जना, अति अशक्त २६८ जना, मध्यम अशक्त १४५ र सामान्य अपाङ्गता ८२ गरी कुल ६ सय ६२ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् ।