यूईएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ समूह ‘४’ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६-० को फराकिलो जित दर्ता गरेको छ ।
स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक, रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले समान एक एक गोल गरेका थिए। स्पेन यस जितसँगै जर्मनीलाई उछिन्दै नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको सुरुवाती केहि मिनेट जर्मनीले खेलमा दबाब बनाएका थिए। १७ औं मिनेटमा फाबियन रुइजको कर्नरमा मोराटाको हेडरलाई गोलरक्षक म्यानुएल नोएरले बचाउन सकेनन् र १-० को स्कोर बन्यो।
३३ औं मिनेटमा फेरान टोरेसले ड्यानी ओल्मोको हेडर क्रसबारमा लागेर फर्केपछि पेनाल्टी क्षेत्रभित्र प्रहार गरि गोल गरेका थिए । ३८ औं मिनेटमा फाबियनकै कर्नरमा रोड्रीले गरेकको फ्लिक हेडर फार पोस्टमा गोल हुन पुगेको थियो ।
५५ औं मिनेटमा टोरेसले व्यक्तिगत दोश्र गोल जोसे गयाको पासमा गोल गरेको थियो।
टोरेसले ७१ औं मिनेटमा ह्याट्रिक पूरा गरे । फाबियनको पासमा टोरेसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई नोएरले बचाउने प्रयास गरेपनि सफल हुन सकेनन् । ७७ औं मिनेटमा जर्मनीका सर्ज जिनाब्रीको प्रहार पोस्टमा लाग्दा जर्मनीले सान्त्वना गोल पनि पाउन सकेन । ९० औं मिनेटमा जोसे गयाको पासमा ओयारज्बालले सहजै गोल गर्दै ६-० को जित पक्का गरे ।
यस जितसँगै स्पेनले यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेनले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसँगै ११ अंक जोड्यो । दोस्रो स्थानको जर्मनीले ६ खेलमा २ जित, ३ बराबरी र १ हारका साथ ९ अंक बनायो ।
यसै समूहको अर्को खेल भने कोरोना संक्रमणका कारण आयोजना हुन सकेन । स्विटजरल्यान्डले युक्रेनको सम्पूर्ण टोलीलाई क्वारेन्टिनमा राखेपछि यूईएफएले खेल रद्द गर्ने निर्णय गरेको हो । युक्रेनको ६ अंक छ भने स्विटजरल्यान्ड ३ अंकसहित पुछारमा छ ।