तनहुँ । पर्यटक बढेसंगै मानहुँकोटमा फोहोर समेत बढेको छ । दैनिक सयौको संख्यामा आन्तरिक पर्यटक मानहुँकोट पुग्ने गरेका छन् ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ मा रहेको मानहुँकोटमा दैनिक जाने पर्यटकले आफुले लागेको खानेकुराबाट निस्कने फोहोर व्यवस्थापन नगर्दा फोहोरको थुप्रो बढ्न थालेको हो ।
सूर्योदय, बादलले ढाकिएको सुन्दर दृश्य र हिमाल हेर्नको लागि मानहुँकोटमा आउने क्रम पछिल्लो दिनमा बढिरहेको छ ।
दिँउसो घुम्न जाने तथा जाडो महिना सुरु भएसंगै रात्रि बसाई (क्याम फायर)का लागि मानुङकोटमा बस्ने समुहले लैजाने खानेकुरामा निस्कने गरेको प्लास्टिक जन्य, सिसाका बोतल लगाएतका फोहोरको थुप्रो देखिने गरेको छ ।
पछिल्लो समय सामाजिक संजाल फेसबुक, टिकटक, युटुबदेखि विभिन्न माध्यमबाट मानहुँकोटको प्रचारप्रसार भईरहेको छ । मानहुँकोटमा पर्यटकको भिड लागेको छ ।
मानहुँकोटबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देखिने भएकाले यस क्षेत्रमा विशेषगरी बिहान र साँझ पर्यटकको भिड लाग्ने गरेको छ ।
मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ ।
मानहुँकोटबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ ।
दमौलीबाट करीब ८ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन । पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न दुई घण्टा भन्दा बढी समय लाग्थ्यो ।
सदरमुकाम दमौलीबाट नजिकै रहेर पनि ओझेलमा पर्दैआएको मानहुँकोट अहिले भने पर्यटकको आकर्षण बन्दै गएको छ । अहिले मानहुँकोट पुग्ने पर्यटकलाई पैदल हिँड्नुपर्दैन ।