लन्डन — जोसुआ किमिचले ७९ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा लोकोमोटिभ मस्कोलाई २–१ ले हराएको छ ।
बायर्नले लियोन गोरेट्ज्काको गोलले १३ औं मिनेटमा अग्रता लिएको थियो, तर एन्टोन मिराचुन्कले बराबरी गोल फर्काए । किमिचले ‘भलि’ बाट आकर्षक गोल गरे । लिग चरणमा बायर्नको यो दोस्रो जित हो र यससँगै समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो ।
यही समूहको अर्को खेलमा एटलेटिको म्याड्रिडले साल्जबर्गलाई ३–२ ले हरायो । समूह ‘बी’ मा साख्तर डोनेस्क र इन्टर मिलानले १–१ तथा बोरुसिया मुन्छेनग्लाडबाख र रियल म्याड्रिडले २–२ को बराबरी खेले ।
समूह ‘सी’ मा भने म्यानचेस्टर सिटीले मार्सेलाई ३–० ले हरायो । त्यसमा फेरान टोरेस, इलकेयी गुन्डोगन र रहिम स्टर्लिङले गोल गरे । सिटीको यो लगातार दोस्रो जित हो ।