काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बङ्गलादेशसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा बराबरी सकिएको छ ।
दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर सिर्जना गरे पनि गोल हुन नसक्दा बराबरीमा सकिएको हो । यसअघि भएको पहिलो मैत्रीपूर्ण फुटबलमा नेपालले बङ्गलादेशलाई दुई– एकले हराएको थियो ।
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुँदै छ । छनोट खेलमा नेपाल समूह एफमा रहेको छ । नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । समूहको शीर्ष टोली भारतमा हुने प्रतियोगिताका लागि छनोट हुनेछ ।