काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आर्चायलाई फोन गरेर पहिरोले गरेको क्षतिबारे जानकारी लिएका छन् ।
मन्त्री खाणले प्राकृतिक विपतमा परेकाहरुको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएका छन् । तनहुँको भानु नगरपालिका–११ स्थित माने चौकामा सुख्खा पहिरो जाँदा दलित परिवारका १२ घर जोखिममा परेका छन् ।
तनहुँसंगै गृहमन्त्री खाणले कास्की र दाङका प्रमुख जिल्ला अधिकारीलाई पनि फोन गरेर पहिरोले गरेको क्षतिबारे जानकारी लिएका छन् । कास्कीका सिडिओ थानेश्वर गौतम र दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग क्षतिबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका–२० र २१ मा गएको पहिरोमा परेर ५ जनाका पाँच जनाको निधन भएको छ । एक जना बेपत्ता भएका छन् । दाङमा सिस्ने खोलाले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा घोराही उपमहानगरपालिका बस्ने बिमला केसी, राधा कुँवर, नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मन्त्री खाणलाई जानकारी गराएका छन् ।