हरि खरेल/म्याग्दे । पछिल्लो समय पर्यटकको आर्कषण बन्दै गएको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनमा रहेको ट्रि हाउस अनिश्चित कालको लागि बन्द गरिएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढे संगै आज(सोमबार)देखी पर्यटकहरुको लागि बन्द गरिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ईश्वरबहादुर रानाभाटले जानकारी दिए ।
चिलाउनको रुखमाथी बनाईको काठको घर (ट्रि हाउस) वरीपरि संरचना बन्दै गर्दा धेरै नै पर्यटकहरु त्यहाँ सम्म पुग्ने गरेको अध्यक्ष रानाभाटले जानकारी दिए । काठको घर हेर्नकै लागि भरतपुर, चितवन, काठमाण्डौ, पोखरा लगायत जिल्लाका विभिन्न क्षेत्रबाट दैनिक सयौको संख्यामा पर्यटकहरु ट्रि हाउससम्म पुग्ने गरेको बताए ।

पर्यटकहरुको केन्द्रबिन्दुको रुपमा स्थापित हुदै जादाँ समितिले ट्रि हाउसको अवलोकनका लागि आउने पर्यटकहरुका लागि प्रवेश शुल्क ३० रुपैया निर्धारण गरेको थियो । प्रवेश शुल्कबाट प्राप्त रकमबाट ट्रि हाउसको वरपरको संरचना निर्माणको लागि खर्च गरिने अध्यक्ष रानाभाटले बताए । अध्यक्ष रानाभाटका अनुसार साथै बन्द रहेको ट्रि हाउस जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोनाको जोखिम बढेसंगै बन्द निर्देशन दिएकाले अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने छ ।
