दुलेगौडा । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारका ९ महिने बालक मुहम्मद उस्मान अलीलाई विश्वमै दुर्लभ मानिएको स्पाइनल मस्कुलर एट्रोफ्री (एसएमए) नामक रोग लागेको छ । रोगको उपचार गर्नका लागि धेरै नै खर्च लाग्ने भएपछि अली परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको थियो । जसपश्चात जिल्लाका विभिन्न सामाजिक सघ संस्था तथा व्यक्तिहरुले सहयोग संकलन अभियानसंगै आर्थिक सहयोग गर्न थालेका छन् ।
आज लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले अलीको उपचारको लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । क्लबमा आवद्ध सदस्यहरुबाट स्वतस्फुर्त रुपमा रकम संकलन गरि उस्मानका हजुरबुवालाई ५१ हजारको चेक हस्तान्तरण गरेको क्लबका अध्यक्ष विष्णुबहादर रानाले जानकारी दिए । साथै दुःख अप्ठ्यारोमा सहयोग गर्नु नै मानवीय धर्म रहेको भन्दै उस्मानको उपचारको लागि सहयोगको अपिल समेत गरे ।
यसै गरि आजै (शनिबार) नेपाल मुस्लिम इज्तेमा आमा समुह शुक्लागण्डकी–५,गल्छिनाले उस्मानको उपचारका लागि ४५ हजार रुपैयाँ सहयोग गरेको छ । उस्मानको उपचारका लागि २६ करोड लाग्ने भएकाले एउटा परिवारले उपचार खर्च जुटाउन नसक्ने हुदाँ अन्य आमा समुहहरुलाई पनि सकेको सहयोगका लागि आमा समुहकी अध्यक्ष बतुल बेगमल आग्रह गरिन ।
बुधबार नेपाल विद्यार्थी संघ तनहुँका सदस्य सुरज लम्सालले आफ्नो र बुवाको जन्मदिनको अवसरमा पाँच जना साथीहरुसंगको समन्वयबाट एकमुष्ट १३ हजार ५ रुपैयाँ उस्मानकी दिदीलाई हस्तान्तरण गरेका थिए ।
पारिवारीक स्रोतका अनुसार अलीको उपचारका लागि करिब २६ करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ । जुन सामान्य नेपालीको पहुँच भन्दा बाहिर रहेकाले सहयोगका अपिल गरेको हो । यो रोगको उपचारका लागि जोल्जेन्स्मा नामक औषधि दिइने छ । साथै यो औषधि विश्वकै महँगो औषधि मा पर्ने हुदाँ सहयोगको लागि अपिल गरेको हो ।