दमौली । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको दण्ड जरिवाना नतिर फरार रहेका प्रतिवादीहरुको खोजि कार्यलाई तिब्रता दिदै आएको छ । जसमा मंगलबार र बुधबार दुई दिनमा विभिन्न मुद्दामा फरार रहेका चार प्रतिबादीलाई पक्राउ गरेको छ । कर्तव्य ज्यानका तीन र रहजनी चोरी मुद्दाका एक गरि चार जना फरार रहेका प्रतिबादीलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि अदालत समक्ष पेश गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा फरार हुदै आएका म्याग्दे गाउँपालिका–२ सेराफाँट निवासी २५ बर्षीय उत्तम श्रेष्ठ, सोही स्थान निवासी द्वय २२ बर्षीय संजोग गुरुङ र २२ बर्षीय सुदिप श्रेष्ठ भन्ने हिमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । अदालतको विसं ०७७ साल मंसिर १६ गतेको फैसलाले दुई महिना दुई दिन कैद र तीन हजार रुपौयाँ जरिवाना तोकेको थियो ।
त्यसैगरी कर्तव्य ज्यान मुद्दामा सोही वडा निवासी गुरुङलाई एक महिना २९ दिन कैद र रतीन हजार जरिवाना, सुदिप श्रेष्ठ भन्ने हिमलाल श्रेष्ठलाई दुई महिना सत्र दिन कैद र तीन हजार रुपैया जरिवाना तोकेपछि निजहरु फरार भएका थिए । त्यसैगरी रहजनी चोरी मुद्दामा व्यासनगरपालिका–२ निवासी २६ बर्षीय मेगसिं गुरुङलाई पक्राउ गरिएको छ । तनहुँ जिल्ला अदालतको बिसं ०७३ बैशाख १७ गतेको फैसलाले एक महिना ६ दिन कैद र १३ हजार ९ सय ९२ रुपैयाँ जरिवान तोकेपछि निज फरार हुदै आएका थिए ।