
दुलेगौंडा । शुक्लागण्डकी ३, बेसारेगौंडामा यात्रुवहाक जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि ६ जना घाईते भएको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए ।
मंगलबार विहान हटियाबाट दुलेगौँडातर्फ आउदै गरेको ग २ च ४०३४ नम्बरको जिप ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा परि घाईते हुनेहरुमा १२ बर्षीय युकेश थापा, १८ बर्षीया पुजा नेपाली, २२ बर्षीया अमृता नेपाली, २४ बर्षीय सञ्जय श्रेष्ठ, २५ बर्षीय बिष्णुबहादुर परियार र ७८ बर्षीया मैती परियार घाईते भएको प्रहरी निरिक्षक खड्काले जानकारी दिए ।
प्रत्यक्षदर्शी जगत वि.क अनुसार छतमा बसेर आएका यात्रुहरु जीप भित्तामा ठोकिएपछि उछुट्टिएका थिए । उनीहरुमध्ये केहिको पाखुरा ,कोखा र कानमा चोट लागेको प्रत्यक्षदर्शी वि.कले बताए । घाईतेहरुमध्ये ३ जनाको तनहुँ सेवा हस्पिटल र बाँकीको पोखरामा उपचार भईरहेको र सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाईएको छ ।