हरि खरेल/ढोरफिर्दी । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.८ ले गत बर्ष जनप्रतिनिधिहरुको अध्ययन अवलोकन भ्रमणका लागि छुट्इएको बजेटबाट कोरोना संक्रमणबाट मृत्यु हुने परिवारलाई वितरण गरेको छ ।
वडाबासी शोकमा रहेका बेला जनप्रतिनिधि भ्रमण जाने कुरा उचित नभएकाले मृतकका छोराछोरीहरुको शैक्षिक कार्यकालागि खर्चिने गरी थोरै भए पनि राहत स्वरुप प्रति परिवार २० हजार उपलब्ध गराइएको वडाध्यक्ष रेग्मीले बताए । वडामा हालसम्म १० जना व्यक्तिहरु कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका थिए । उनिहरु सबैलाई वडाले २०÷२० हजारका दरले रकम वितरण गरेको हो ।
वडाध्यक्ष रेग्मीका अनुसार अवलोकन भ्रमण शिर्षकबाट १ लाख ५० हजार र पशुधन सुरक्षण कार्यक्रमबाट ५० हजार रुपैयाँ रकमान्तर गरी दुई लाख रुपैयाँले राहत स्वरुप वितरण गरिएको छ । ‘भ्रमण बरु अर्कोबर्ष गरौला, तर,वडावासी शोकमा भएको बेला जनप्रतिनिधि भ्रमण जाने रमाइलो गर्ने उचित ठानेनौँ, थोरै भए पनि वडावासीको पीडामा मलम लगाउने प्रयास स्वरुप राहत हुन्छ भनेर खर्चिएका छौ’–उनले भने ।
आर्थिक बर्षको अन्तमा अनावश्यक क्षेत्रमा हुने खर्च सदुपयोग गरि वडाका जनताका लागि उल्लेखनिय कार्य गरेको छ । उनले नेपालभरीमै पहिलो पटक वडाले कोरोना बाट ज्यान गुमाउने परिवारलाई राहत स्वरुप रकम वितरण गरेको दाबी गरेका छन् । केही समय अगाडी वडा नं. ८ मा कोरोना संङ्क्रमणको उच्च जोखिममा रहे पनि अहिले भने सक्रिय कोरोना सङ्क्रमितको संख्या शुन्य रहेको छ ।