दुलेगौडा । पछिल्लो समय शुक्लागण्डकी नगरपालिका–७,सेरामा रहेको बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रा.लि.ले कोरोना महामारीका क्षेत्रमा विभिन्न सहयोगहरु गर्दै आईरहेको छ । जस अन्तर्गत कम्पनीले तनहुँको शुक्लागण्डकी नगरपालिकाको कोरोना राहात कोषमा ३० लाख रुपैया सहयोग गरेको छ । सोमबार कम्पनीका कारखाना व्यवस्थापक बाबुराम कार्की र मानब संसाधन प्रमुख अन्जन दुवाडीले नगरप्रमुख किसान गुरुङ,उपप्रमुख सविता रसाइली र प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।
नगर क्षेत्रभित्र कोरोना सङ्क्रमण दर नियन्त्रण गर्नका लागि आफुहरुले नगरको आवश्यकतालाई मध्यनजर गरि कोरोना कोषमा रकम जम्मा गरेको कम्पनीका कारखाना व्यवस्थापक बाबुराम कार्कीले जानकारी दिए । प्रालिले तनहुँ जिल्लाभित्र विभिन्न अस्पतालहरुमा एम्बुलेन्स,स्वास्थ्य सामग्री, अक्सिजन कन्सन्ट्रेटर,भ्यान्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्दै आईरहेको बताए । साथै, आईतबार जिल्लाको म्याग्दे गाउँपालिकालाई पनि २० लाख रुपैया हस्तान्तरण गरेको कार्कीले जानकारी दिए ।
कम्पनीको मानब संसाधन प्रमुख दुवाडीले यस क्षेत्रको दीर्घकालिन बिकासको लागि स्थानीयसंग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल प्रा.लि. सदैव तयार रहेको बताएका थिए ।कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले यस क्षेत्रको सामाजिक तथा आर्थिक बिकासमा सूर्य नेपाल प्रा.लि.ले गरेको योगदानको उच्च प्रशंसा गर्दै भबिष्यमा पनि सहयोगको अपेक्षा गरका थिए ।
उपमेयर सबिता रसाईलीले बोर्डको बैठक बसेर रकमको सहि सदुपयोग गर्ने बताईन् । उनका अनुसार कोरोनाकै लागि भनेर आएको रकम हुदाँ स्वास्थ्य सामग्री खरिद लगायत महामारी रोकथाम गर्ने कार्यमा खर्च गरिनेछ ।
सुर्य नेपाल प्रा.लि. मार्फत यस अघि शुक्लागण्डकीको कोरोना राहत तथा उपचार कोषमा १० लाख रुपिया सहयोग गरेको थियो । हाल नगरपालिकामा सन्चालित एम्बुलेन्स पनि अघिल्लो बर्ष सुर्य नेपाललेनै उपलब्ध गराएको हो ।