दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा २८ औँ विश्व आदिवासी दिवस हर्षेल्लासका साथ मनाईएको छ । ‘ नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद्को आयोजनामा ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले आदिवासी जनजातिलाई आयआर्जन र समृद्धिसँग जोड्नुपर्ने आजको मुख्य आवश्यकता रहेको बताए । ‘आदिवासी दिवसमा सार्वजनीक विदा दिएर मात्र सम्मान तपाईहरुको सम्मान हुदैन । यस समुदायलाई आय र समृद्धिसंग जोड्न सके मात्र वास्तविक संरक्षण र सम्मान हुनेछ । यसका लागि नगरपालिका हरहमेसा तपाईको साथमा रहने छ’ उनले भने ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) ले जनजाती समुहायको भाष धर्म, कला संस्कृतिलाई संरक्षण गर्न सबै पक्षले ध्यान दिनुपर्ने बताए । जनजाती समुदायको संस्कार र संस्कृति संरक्षण हुन नसके देशमा बाह्य पर्यटकको संख्यामा क्रमश कमि आउने बताए । ‘अब पर्यटक हिमाले हरेरे अघाईसके, अब हामीले हाम्रो भाष, धर्म, कला, संस्कृतिलाई संरक्षण नगर्ने हो भने पर्यटकहरुको संखयामा कमि आउछ’ उनले भने ।
कार्यक्रममा नगरभित्रका आदिवासी जनजातिहरु आ–आफ्नो जातिय पहिचान झल्कने भेषभुषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । शुक्लागण्डकीमा मगर, गुरुङ, नेवार, भुजेल, तामाङ, थकाली र राईहरुको बसोबास रहेको छ । कार्यक्रममा नेवारको कुमारी नाच, मगरको कौराहा र झ्याउरे, तामाङको तामाङ सेलो र भुजेल समुदायको चुट्का प्रस्तुत गरिएको थियो ।
परिषदका अध्यक्ष विमल जि.सी भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लिला वल्लभ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका संस्थापक मेयर किसान गुरुङ। परिषद्का सल्लाहकार खिमबहादुर कुमाल, परिषद्का जिल्ला उपाध्यक्ष सुजित हिराचन, शुक्लागण्डकी ५ का वडाध्यक्ष दिर्घबहादुर थापा, वडा नं ७ का वडाध्यक्ष एवं मगर संघ तनहुँका उपाध्यक्ष खड्क सिं थापा मगर, मगर संघ शुक्लागण्डकीका अध्यक्ष अमरराज थापा मगर, नेवार समाज शुक्लागण्डकीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, समन्वय परिषद् सदस्य तुलसी कुमारी श्रेष्ठ, सचिव सुमन आले लगायतले बोलेका थिए ।