हरि खरेल/दुलेगौंडा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ ले संञ्चालन गरेको योजनामा श्रमको उचित मुल्य नपाएको मजदुरहरुले गुनासो गरेका छन् । रक गार्डेन पैदल मार्ग र खेल मैदान मर्मतको योजनामा काम गरेका मजदुरहरुले श्रमको शोषण भएको बताएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको खेलमैदान मर्मत कार्यमा खटिएका दुर्गाप्रसाद कोईरालाले वडाध्यक्ष रामबहादुर क्षेत्री थापा र सब ईन्जिनियर मोनिका श्रेष्ठले आफुहरुको श्रम शोषण गरेको आरोप लगाए । योजना अनुसार आफुहरुले ५० हजार पाउनुपर्ने भएता पनि ११ हजार भन्दा नपाएको उनले बताए । “के कारणले हाम्रो श्रम शोषण गरियो ?” कोईरालाले प्रश्न गरेका छन् ।
सोही कार्यमा कार्यरत अर्का युवा कृष्ण प्रसाद कोईरालाका अनुसार जेठको २३ गते वडाध्यक्ष र ईन्जिनियर आएर बाटो नाप्दा तीन सय ५० मिटर पुगेको त्यसपछिको १८ सय मिटर बाटो कहाँ खन्ने भनेर वडाले स्पष्ट नपारेको बताए । असार १५ गते पछि वडाले आफुहरुले काममा प्रयोग गर्दै आएको सामानहरु बुझाउन लगाएको तर अहिले असार २३ गते बुझाएको भनि वडाध्यक्षले झुटो अभिव्यक्ति दिएको बताए ।
सम्झैता पत्र बनाउदा ७ जनाले यति काम पुरा गर्नुपर्छ भनि उल्लेख नगरिएको हुदाँ यस्तो समस्या सिर्जना भएको स्थानीय किशोरकुमार विकले बताए । साथै खेलकुद मैदान तल ग्याबिन जालि हाल्ने कार्यमा ईन्जिनियरले कुनै पनि सल्लाह नदिएकाले अहिले समस्या आएको उनको भनाई छ ।
यता रोजगार कार्यक्रमकी सब ईन्जिनियर मोनिका श्रेष्ठले भने श्रम गरे अनुसार नै पारिश्रमीक निर्धारण गरिएको बताईन् । उनले भएको कामको अनुगमन गर्दा २१ सय मिटर बाटो बनाउनुपर्नेमा तीन सय मिटर मात्र बनाएको र ग्याबिन जालि स्टिमेट अनुसार ५६ घन मिटर हुनुपर्नेमा २१ घन मिटर मात्र भरिएको हुदाँ परिश्रमीक कम आएको सब ईन्जिनियर श्रेष्ठले स्पष्ट पारिन ।
त्यस्तै वडाध्यक्ष राम बहादुरथापा क्षेत्रिले स्टिमेट अनुसार काम भए मात्र पुरा पैसा पाउने बताए । साथै वडाध्यक्ष श्रेष्ठले काम सुरु गर्नु अघि नै कामबारे स्पष्ट पारेको बताए । जनताले श्रम गरे अनुसार पारिश्रमीक नपाउदा दुख लागे पनि प्राविधिक मुल्याङ्कन अनुसार काम नभएपछि कठ्ठै भनेर आफ्नो खल्तिबाट दिन नसक्ने तर्क गरे । साथै आफुले कसैलाई पनि पैसा घटा भनेर विभेद नगेको उल्लेख गरे ।