बर्षौदेखि घाम लागे धुलो र पानी पर्दा हिलो हुने पृथ्वी राजमार्गको कथा र मेरो ब्यथा लेख्दै छु । मेरो घर तनहुँ शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा पर्छ । राजमार्गदेखि करिब ५० मिटर आसपासमा । अहिले पनि गाउँदेखि बसाँई सरेर राजमार्ग छेवैमा घर बनाउन चाहानेहरुको कमि छैन । तर, राजर्माग छेवैमा घर भएर पनि मलाई भने गाउँ नै फर्कौ जस्तो भइरहेको छ । कारण, राजर्मागको अवस्था । संधैभरिको धुलो र धुवाँले राजमार्ग छेउको मेरो बसाँई नरकमा भएको अनुभुति गरेको छु ।
म विगत १५ बर्षदेखी यही ठाउँमा बस्दै आएको छु । ईतिहास त थाहा नहोला तर अवस्था भने भोग्दै आएको छु । राजमार्ग भनेको कालोपत्रे गरेको, सलल गाडिहरु गुड्ने बाटो भन्ने बुझिन्छ । तर, मैले १५ बर्षदेखि भोग्दे आएको अनुभवले भने राजमार्ग भनेको खाल्डा खुल्डी, कतै कतै मात्र कालोपत्रे देखिने, पानी पर्दा रोपाई गर्न मिल्ने र घाम लाग्दा धुलो उड्ने भनेर बुझेँ ।
मैले ५ कक्षासम्म नजिकैको शिला प्रा.विमा पढे । विद्यालय जादाँ आमाले ‘बाटो खराब छ, धुलोले बसहरु अगाडीबाट आएको पत्तो हुदैन, नानि (ठूलो बुबाको छोरी) भाईलाई राम्रोसंग बाटो काटेर लैजा है’ भनेको कुरा अझै पनि मेरो मनस्पटलमा घुमिरहन्छ । यो कुरा अहिले आएर राम्रोसंग बुझ्दा, राजमार्ग अहिले मात्र हैन्, पहिले देखि नै यस्तै रहेछ ।
मैले आजसम्म थाहा पाए अनुसार पृथ्वी राजमार्ग अन्र्तगत पर्ने दुलेगौंडा–कोत्रे सडक खण्ड प्रत्येक बर्ष मर्मत भएको छ । तर मर्मत भएको महिना दिन पनि नपुग्दै सडकमा अनौठा खाल्डा खुल्डी पनि देख्न पाईन्छ । लाग्छ, नेपालमै नमुना र जादुमय बाटो हाम्रै पृथ्वी राजमार्ग अन्र्तगतको दुलेगौंडा–कोत्रे खण्डको बाटो हो ।
कक्षा ११ पढ्दै गर्दा पत्रकारीता क्षेत्रमा प्रवेश गरे । यो अवसर तनहुँ खबरका कार्यकारी सम्पादक अशोक विश्वकर्मा सरले दिनुभयो । पत्रकारीता पेसा अंगाले यता यस राजमार्गको बिषयमा पटक पटक भिडियो, समाचार प्रकाशन र प्रशारण पनि गरे । र,पनि राजमार्गको अवस्था सुधार हुन सकेन । समाचार बाहिरिएपछि माटोले खाल्डा पुर्ने र कालोपत्रे गरि हाले पनि गुणस्तरहीन देखावटी मात्र गर्ने विकार संस्कृति बसिरह्यो । गत साउन ५ गते रेडियो ढोरबारहीका स्टेशन म्यानेजर राजकुमार आले सर र म भएर राजमार्गको बिषयमा स्थलगत रिर्पाेटिङ्ग ग¥यौ । जहाँ हेर्दापनि ठुलो सानो खाल्डो देखिपछि खाल्डोको संख्यै गन्ने निर्णमा पुग्यौ । दुलेगौडा देखि कोत्रेसम्मको करिब ४ किमी दुरीमा ३ सय ६७ वटा खाल्डाखुल्डी पाएका थियौं । यहि हालतको बाटो भएर दैनिक हजारौ गाडी गुड्छन् । खाल्डामा परेर कति पछारिए, थेचारिए र बजारिए कुनै हिसाब नै छैन ।
बाटोलाई लिएर यात्रु र स्थानीयहरुको व्यापक गुनासो र आक्रोश सुनियो । मलाई अझै याद छ,रिर्पाेटिङ्गकै क्रममा पोखराबाट खैरेनीटारतर्फ आउँदै गरेकी स्कुटर चालक सुनिता गुरुङ बीच बाटोमा धेरैबेरसम्म रोकिरहिनन् । अगाडी बढ्नै सकिनन् । पछि हामीसंग कुरा गर्दै उनले भनेकी थिईन्– ‘दुर्घटनामा परि ज्यानै जान सक्ने अवस्था छ, यो बाटो कस्ले हेर्ने हो, उहाँहरुले देख्न त देख्नु भएको छ होला ? कि देखेर नि नदेखेको जस्तो गर्नु भएको हो कि? नेपालमा जे गरे नि चल्छ भनेर बस्नु भएको हो की?’ उनले सरोकारवाला निकायलाई गरेको प्रश्नै प्रश्नको अगाडी मैले अर्काे प्रश्न गर्न सकिन ।
म आफै उदयीमान पत्रकार, दैनिक त्यही बाटो भएर क्याम्पस, कार्यालय आउने जाने गर्दछु । उक्त समस्या देखि म आफै वाक्क दिक्क भईसकेको छु । घरतिरका आमाबुबा तथा समाजसेवी व्यक्तिहरुले पनि बाटोको बिषयमा लेख्न प¥र्याे समाचार, आधा उमेर त धुलोले नै घटाउँछ कि क्या हो ? भन्दै उहाँहरुले चिन्ता व्यक्त गर्नुहुन्थ्यो । म सोच्दै कार्यालयसम्म आउथे र सडक डिभिजन कार्यालयका सरोकारवाला व्यक्तिलाई जनताबाट आएका गुनासोको प्रति प्रश्न गर्थे । तर सडक डिभिजन कार्यालयको जवाफ ‘हामीले केही गर्न सक्दैनौँ भन्ने आउँथ्यो । यस्तो जवाफले मलाई सडक डिभिजन कार्यालय मुर्ति समान लाग्न थाल्यो ।
राजमार्गबाट उड्ने धुलोले म मात्रै होईन यस क्षेत्रका जनताको स्वास्थ्यमा कति असर पारेको छ भनेर कुनै हेक्का नै छैन् । सम्बन्धीत निकायले चासो नदिदाँ ‘नेपालको सस्तो पाउडर हो’ भनेर सहेर बस्नु परेको छ । विहान उठेर छतबाट खुल्ला हावा लिउ भन्दा पहिला धुलाको कर्ण मुखभित्र प्रवेश गरेको आभाष हुन्छ ।
जनताको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परेको हुदाँ चाडै बाटो मर्मत गर्नका लागि नागरिक समाजले असोज २३ गते सडक बन्द पनि गरेको थियो । तर जति बन्द गरेता पनि अवस्था भने परिवर्तन हुन सकेन । बन्द गर्ने क्रममा स्थानीय गोमा थापाले भान्सा, सुत्ने ओछ्यान सवै धुलोले सेतै हुने र दिनमा कम्तिमा ८÷१० पटक घर सफा गरिरहनु परेको सुनाईन । साथै, उनि आक्रोशित हुदै भनिन् ‘नेताहरु सवै आफ्नै स्वार्थमा लिप्त भए । जनताको पिर–मर्काबारे उनीहरुलाई कुनै मतलबै छैन । अबको चुनावमा कुन मुख लिएर भोट माग्न आउँछन् हेरौला ।’ यसले पनि जनताहरु सरकारप्रति कति आक्रोशित छन भनेर स्पष्ट हुन्छ ।
दुलेगौँडादेखि कोत्रेसम्मको यात्रा गर्ने हो भने धुलाले मान्छे चिन्न सकिदैन । तर, नेपालमा सरकारले विदेशी पाहुना÷नेता दुई तीन दिनको भ्रमण गर्न आउदाँ नक्कलि विरुवा लगाएर, सडक वरीपरि ब्यानर टासेर, खाल्डाखुल्डी पुरेर रमिता देखाउने गर्दछ । तर बर्षाै देखि धुलो र हिलोको कारण सास्ती खेपेका जनताको घर अगाडी धुलो कम गर्न पानी समेत हाल्ने फुर्सद पाएको छैन ।
संघिय सरकारको बजेटमा मुग्लिनदेखि कोत्रेसम्मको चार लेनको सडक विस्तारको लागि चाइनिज कम्पनीलाई ठेक्का दिएको थियो । पश्चिमी क्षेत्रमा काम सुरु भईसकेको छ भने पुर्वीय क्षेत्रमा अझै पनि काम हुन सकेको छैन् । हामीले असोज २३ गते पुर्वीय खण्डको परियोजना व्यवस्थापक प्रेम प्रकाश खत्रीसंग कुराकानि गर्दा ‘भर्खरै सम्भौता भएर तीन जना चाइनिजहरु आइपुगेका छन् । निर्माण सामाग्री तथा मेशिन ल्याउन बाँकी रहेकाले काम शुरु हुन सकेको छैन् । अब चाडै हामीले काम सुरु गर्ने छौं ’ भनेका थिए । तर यतिका दिनसम्म पनि काम हुन सकेको छैन् । यतिका बर्षसम्म पनि सडक मर्मत नहुनुमा हामीले जिताएर पठाएका जनप्रतिनिधिको चासो नहुनु हो । यसका लागि सबैले चासोका साथ बाटो मर्मत गर्नका लागि सम्बन्धित निकायलाई खबरदारी गर्न आवश्यक छ ।