गुनासो
लाग्दैन मैले कुनै गुना गरे जस्तो
लाग्दैन ममाथि कुनै मुद्धा चले जस्तो
तर वकिलरूपी छिमेकीहरु बीच
मेरै बारे बहस चलिरहन्छ
मेरै नाममा दहलफसल चलिरहन्छ
मेरो अघि मेरो पक्षमा त
मेरो पिठ्युपछि मेरो विपक्षमा
हो मेरै नाममा दहलफसल चलिरहन्छ
के म मात्रै छु र? बेकारको,बेकामको,
अनि बेरोजगारको पात्र
मन थियो, असल चरित्रमा बाँधिन
तर सफल भएँ वेकामको, बेकारको
अनि बेरोजगारको पात्र भएर चिनिन
हो यो समाजमा चिनिए मात्र
भएर उदहारणको पात्र
त्यो पनि कसरी,
मलाई कौसीमा देख्नै हुन्न,
काका बोलीहल्छन् मिठो बोलीमा तिर रोपे जसरी
साइँलो जस्तै होलास है भनी
आफ्नो छोरो झस्काउँछिन् काकी,झस्किन्छु म
बोल्छिन् काकी मलाई नै ताकि ,तड्पिन्छु म
आफ्नो दस कक्षा फेल भएर खाडी छिरेको छोरोसँग दाज्छिन् अर्की
बा मौनताले जवाफ दिन्छन् ,आमा बोल्छिन् नझरकी
तिनकै छोरो फोन गर्छ
कैले कसो
ऊ भन्छ ,”पढ्नु पर्ने रैछ”
म भन्छु,” बेलैमा खाडी छिर्नु पर्ने रैछ”
पढाउँदा पढाउँदै सक्किसक्यो बाको सम्पति
छिमेकीले कुरा सुनाउने बालाई नै कति हो कति
मौन छन् बिचरा आतिन त आतिय हुन कति
व्यवसाय गरौं छैन लगानी
हुन लागिसक्यो बिहान,बेलुकी छाक कसरी काट्नी
पाँचवर्षे पनि कम भो भनि म्यादमा ब्याचलर पछि मास्टर जोइन भएकै हो
देशमै केही गर्छु भनि बारम्बार चुनौती
दिएकै हो
खै सरकारले चाँसो दिएन कि,
सरकार सम्म यो कुरा पुग्दै पुगेन की
भैगो छोडदिउँ यी कुरा अब म पनि प्रदेशिने नै त हो
आमाको त्यो फाटेको चोली सिउँदा सिउँदै मखिसक्यो
मेरै लागि पसिना बगाउँदा बगाउँदै बाको तालु रितिसक्यो
अब अरु त खै के भनुँ
ए सरकार!
अबका पुस्तालाई रोजगारीमुलक हैन
स्वरोजगार बन्ने शिक्षा दिनु ।
– मोनिका खड्का