दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार निवासी बोनम्यारो रोग पिडित ७ वर्षिय सायन खत्रीको आइतवार विहान निधन भएको छ ।
भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । बोनम्यारोको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएता पनि थप उपचारको क्रममा उनको निधन भएको हो ।
खत्रीको ‘बोनम्यारो’ प्रत्यारोपणकालागि परिवारको आग्रह अनुसार सायन खत्री बचाउन अभियान गठन गरि आर्थिक सहयोग संकलन गरिएको थियो । सायन खत्री अभियानद्वारा संकलित रकम रु ४४ लाख ८४ हजार ३ सय १३ रुपैया बुबा ध्रुव खत्रीको खातामा जम्मा गरिएको अभियानका संयोजक राजेश पाण्डेले जानकारी दिए । उनले सायनको निधनबारे जानकारी आएपछि आइतवारैदेखि रकम संकलन कार्य बन्द गरिएको उल्लेख गरे । उनका अनुसार सोमवार सबै प्रक्रिया पुरा गरि डिस्चार्ज गरिएको छ भने मंगलवार शव शुक्लागण्डकी ल्याउने तयारी छ ।