दुलेगौंडा — खेलाडीको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै भ्याली युथ क्लबले आफ्ना घाइते खेलाडीको उपचारका लागि १ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। शिखर इन्स्योरेन्समार्फत गराइएको बीमा अन्तर्गत उक्त रकम दाबी भुक्तानी प्राप्त भई खेलाडीको उपचारमा राहत मिलेको हो।
खेलकुद गतिविधि सञ्चालनसँगै खेलाडीको सुरक्षाप्रति पनि उत्तिकै जिम्मेवार रहनुपर्छ भन्ने धारणाका साथ भ्याली युथ क्लबले केही समयअघि आफ्ना १९ जना खेलाडीहरूको ४ लाखसम्मको दुर्घटना तथा खेलाडी बीमा गराएको थियो। सोही बीमा पोलिसी अन्तर्गत घाइते खेलाडीको उपचार खर्चबापतको रकम शिखर इन्स्योरेन्सले क्लबलाई प्रदान गरेको हो।
क्लबका अध्यक्ष सुवास साहीका अनुसार बीमा दाबी भुक्तानीले घाइते खेलाडीलाई उपचारमा ठूलो राहत पुग्ने र यसले अन्य खेलाडीहरूमा पनि मैदानमा निर्धक्क भएर खेल्ने हौसला मिल्ने बताए ।













