दुलेगौडा । शुक्लागण्डकी नगरपालिकाका भित्रका बिद्यालयबाट एसइइ उत्तीर्ण हुने विद्यार्थीहरुलाई नगरभित्रका बिद्यालयमा पढाउनका लागि वातावरण निर्माण गर्ने विषयमा आईतवार पञ्चमुनिदेव मावि, दुलेगौडामा अन्तरक्रिया सम्पन्न भएको छ ।
शुक्लागण्डकी नगरपालिका, शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा आईतवार पन्चमुनिदेब माविमा सम्पन्न भएको कार्यक्रममा सहभागि नगर भित्रका माध्यमिक विद्यालयका प्रध्यानाध्यापकहरुले नगर भित्रका विद्यालयहरुले आपसी समन्वय र सहकार्य गरी एसइइ उत्तिर्ण विद्यार्थीहरुलाई नगरभित्रकै पाएक पर्ने विद्यालयमा अध्ययन गराउन आवश्यक पहल गर्ने वताए ।
बिशेष गरि बिज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि नगरपालिका भित्र बिज्ञान विषय सन्चालन हुने पन्चमुनीदेव माविमा पढ्नका लागि सहजीकरण एवं समन्वय गर्न सबैमा अनुरोध गरिएको थियो । शुक्लागण्डकी नगपालिका भित्र पञ्चमुनिदेव माविमा मात्रै ११ मा विज्ञान विषय सञ्चालनमा रहेको हुँदा नगरपालिकाले समन्वय गरेर विज्ञान अध्ययन गर्ने सवै विद्यार्थीलाई घर पाएक हुने गरी अध्ययन गर्नका लागि नगरपालिकाले समेत आवश्यक सहजिकरण गर्ने कार्यक्रममा सहभागि नगर प्रमुख कृष्णराज पण्डीतले वताए ।
बिज्ञान बाहेक अन्य विषयमा समेत नगरपालिका भित्रका बिद्यालयमानै बिद्यार्थीहरुलाई अड्याउनका लागि नगरपालिका र बिद्यालयले संयुक्त रुपमा प्रयास गर्ने र आवश्यक परेमा नगरपालिकाले सहजिकरण गर्ने नगर उप प्रमुख खुम बहादुर विकले वताए ।
बिज्ञान विषय अध्ययनका लागि नियमानुसार छात्रवृत्ति उपलब्ध गराईने साथै विद्यालयको तर्फबाट र थप आवश्यक गरिव जेहन्दारको सन्दर्भमा नगरपालिकासँग समन्वय गरेर थप छात्रवृत्ति समेत उपलब्ध गराउन समेत प्रयास गरिएको कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा नगर भित्रका विद्यार्थी वाहिर पठाउन कसैले सहजिकरण गरेको थहाँ पाए नगरले छानविन गरी आवश्यक कार्वाही गर्ने सम्वन्धमा पनि छलफल भएको थियो ।