समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाका मुख्य बजार क्षेत्रमा पुन: बन्दाबन्दीको घोषणा गरिएको छ । बुधबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकामा कोरोना संक्रमित दर तीब्र गतिमा बढेकाले थप जटिल अवस्था आउन सक्ने भएकाले संक्रमणबाट बच्न र बचाउनका लागि मुख्य बजार क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।कोरोना भाईरसको संक्रमण समुदायस्तरमा तिब्र गतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा ५ दिन लकडाउनको घोषणा गरेको छ ।
यो अवधिमा नगरक्षेत्रमा राजमार्गसंग जोडिएको बजारसंगै ढोरफिर्दी र साँखे बजार पनि बन्द रहने नगरप्रवक्ता खिमबहादुर कुमालले बताए ।
कुमालका अनुसार अत्यावश्क सेवामा पर्ने स्वास्थ्य, सरसफाई र विपद व्यवस्थापनबाहेक बैंक तथा वित्तिय संस्था, सामाजिक संघसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछ । ‘पुर्व निर्धारित कक्षा ११ को परिक्षा भने सञ्चालन हुनेछ । यद्यपी परिक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना हुनुपर्नेछ’, प्रवक्ता कुमालले भने । नगरपालिका र वडा कार्यालयबाट अत्यावश्कय सेवा प्रवाहा हुने उनको भनाई छ ।