मानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ ।मानहुँकोट प्राकृतिक सुन्दरताले धनी भएपनि पर्याप्त पूर्वाधार निर्माण नहुँदा अझै सोचे जति विकास हुन छैन ।
तनहुँको सदरमुकाम दमौली बजारबाट पृथ्वी राजमार्ग हुँदै पोखरा जाने क्रममा व्यास नगरपालिका-५ चापाघाट आउँछ । चापाघाट हुँदै मानहुँकोट पुग्न सवारी साधानमा २० देखि २५ मिनेट समय लाग्छ ।
मानुङकोट पुग्न दमौलीबाट जीप पनि पाईन्छ । दमौलीदेखि करिब ८ किलोमिटरको दुरीमा रहेको मानहुँकोटको सडक १.५ किलोमिटर कालोपत्रे र बाँकी कच्ची रहेको छ ।
सङ्घीय सरकारको बजेटमार्फत् मानहुँकोट जाने बाटो कालोपत्रेका लागि करीब पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ । पाँच किलोमिटर सडक कालोपत्रेका लागि ग्राभेल गर्ने कामलाई समेत अगाडी बढाउन लागिएको व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले बताए । चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमि सडक पहिल्यै कालोपत्रे भइसकेको छ ।