भिमाद । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले असोज १० गते भिमादमा हुने एमालेको वृह्त कार्यकर्ता भेलालाई लक्षित गरि आज पत्रकार सम्मेलन गरेको छ । उक्त पत्रकार सम्मेलनमा कमिटीले “किसानसंग नेकपा एमाले” अभियान संञ्चालन गर्ने बताएको छ । एमाले संधै पौरखी किसानहरुको हितमा सक्रिय रहदै आएको हुदाँ किसानसंग नेकपा एमाले अभियानकै रुपमा अगाडी बढाउने नेकपा एमाले भिमाद नगर कमिटीका अध्यक्ष इमान थापाले बताए । “किसानहरुले उत्पादन गरेको कृषि उपजहरु भित्र्याउन सहयोग पु¥याउने छौँ ।”उनले भने “यो प्रचारको लागि मात्र होईन काम गरेर देखाउने छौँ ।”
अध्यक्ष ईमानका अनुसार कमिटीले किसानसंग नेकपा एमाले संगै एक महिना एक पर्यटकी क्षेत्र सरसफई अभियान, कमिटीका करिब १२ सय ५० सदस्यहरुको ब्लड गु्रपको पहिचान गरि अभिलेख तयार पार्ने कार्यक्रम लगायत अन्य रचनात्मक कार्यहरु गर्ने भएको छ ।
पार्टी चिरा परे पनि भिमादमा कुनै असर नपरेको प्रमाणित गर्न १० गते हुनेको कार्यक्रममा करिब १२ सय देखी १५ सय सम्म कार्यकर्ता भेला गरेर शक्ति प्रदर्शन गर्ने भएको छ । अध्यक्ष ईमानका अनुसार सभालाई सम्बोधन गर्न नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ, पुर्व खेलकुदमन्त्री जगत् विश्वकर्मा ,संविधान सभा सदस्य टुकराज सिग्देल, प्रतिनिधि सभा सदस्य तथा पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देल लगायतका नेताहरुको उपस्थिती रहने बताए ।