बेलचौतारा । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) शुक्लागण्डकी नगर तथा भानुभक्त बहुमुखी क्याम्पस कमिटीको संयुक्त आयोजनामा नेपालको सातौं संविधान दिवस अवसरमा दिप प्रज्वलन गरेको छ । क्याम्पस प्राङ्गणमा भएको कार्यक्रममा सहभागिहरुले नेपालको नक्सा, झण्डा र पुस्तक वरिपरी दिप प्रज्वलन गरि यो दिवस मनाएका छन् ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री आशा कोइरालाले संविधानको रक्षा गर्नु सबै नेपालीको दायित्व रहेको बताएकी छिन् । ‘हामीले हाम्रो त्याग र बलिदानिबाट लडेर ल्याएको नेपालको गणतन्त्र पछि सविधानसभा बाट प्राप्ते सविधान हो, यसलाई रक्षा र कार्यान्वयन गर्नु हामी र हाम्रो युवा विद्यार्थीहरुको आवश्यकता हो ।’
शुक्ला गण्डकी नगर कमिटीकी उपाध्यक्ष बिनिता भण्डारीको सभापतित्वमा भएको दिप प्रज्वलन कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–१२ का अध्यक्ष मनराज गुरुङ, माओवादी केन्द्र जिल्ला सचिबालय खुम बहादुर बि.क, अखिल क्रान्तिकारीका जिल्ला कमिटीका अध्यक्ष मिलन महत, अखिल क्रान्तिकारी शुक्ला गण्डकी नगर कमिटीका अध्यक्ष आशिष् भण्डारी, सदस्यहरु सागर क्षेत्री, अस्विन क्षेत्री , सरोज सुनार को उपस्थिति रहेकोे थियो भने अखिल क्रान्तिकारी शुक्ला गण्डकी नगर कमिटीका सचिव भक्त ब. वि.क ले कार्यक्रम संचालन गरेका थिए ।