बेलचौतारा । विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)बाट ग्रसित तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका १० महिने बालक उस्मान अलिको उपचारको लागि सहयोग रकमहरु जट्दै जान थालेको छ । जस अन्र्तगत आज नेपाली काँग्रेस शुक्लागण्डकी नगरपालिका–४ नं वडाका नवनिर्वाचित वडा सभापति डिलबहादुर श्रेष्ठको परिवारले पनि आर्थिक सहयोग गरेका छन् ।
श्रेष्ठ परिवारले बुबाको मुख हेर्ने दिनको अवसरमा उस्मानको उपचारका लागि २० हजार १०६ रुपैयाँ सहयोग गरेका हुन् । यसै गरि ओम कपडा पसलका संचालक समेत रहेका (नेवार माइला) श्रेष्ठले १० हजार एक सय एक रुपैयाँ उपलब्ध गराएका हुन् ।
त्यस्तै,लण्डनमा रहेका श्रेष्ठका छोरी/ज्वाँई विशाल श्रेष्ठ र सुलोचना श्रेष्ठले १० हजार ५ रुपैयाँ सहयोग गरेका हुन् । श्रेष्ठले मंगलबार एकमुष्ट २० हजार १ सय ६ रुपैयाँ उस्मानकी दिदी रुकिया खातुनलाई हस्तान्तरण गरेका थिए । श्रेष्ठले रकम हस्तान्तरण गर्दै उस्मानको शिघ्र स्वास्थ्य लाभको कामना गरे । सोहि अवसरमा दुलेगौँडा भित्रीबजार टोलकी अध्यक्ष रामकुमारी गुरुङले पनि १ हजार पाँच रुपैयाँ सहयोग गरेकी थिइन् ।
उपचारका लागि नेपाली करिब २६ करोड रुपैयाँ लाग्ने बताइएको छ । हालसम्म करिब ५० लाख सहयोग संकलन भएको पारिवारिक श्रोतले जनाएको छ ।