दुलेगौँडा कुशेऔँशी /बुबाको मुख हेर्ने दिन छोराछोरीहरूले परम्परा अनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण,पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । जस अन्र्तगत मंगलबार पौडेल परिवारले आफ्नो बुबा जीबाखर उपाध्यायको सम्झनामा तनहुँको शुक्लागण्डकी नगरपालिका ९,घारीमा रहेको गौं संरक्षण केन्द्रमा सहयोग गरेका छन् ।
स्याङ्जाको आधिखोला गाउँपालिकास्थित बाङसीङ्ग बस्दै आएका जीबाखरका छोरीहरु रमाकुमारी पौडेल र कमला पौडेलले गौं सरक्षण केन्द्रमा आएर सहयोग गरेका हुन् । उनीहरुले ५ बोरा चोक्कर, ५ के.जी भेली, ५ पोका नुन तथा औषधी सहयोग गरेका छन् ।
पौडेल परिवारका सदस्य जनार्दन पौडेलले गौंको संरक्षण गर्नु सबैकोे दायित्व रहेको बताए । आगामी दिनमा गौ संरक्षण केन्द्रमा आवश्यक औषधी लगायतका समाग्रीहरु पनि उपलब्ध गराउदै जाने बताए । अहिले गौं संरक्षण केन्द्रमा १ सय १० वटा गाईहरु रहेको कार्यपालिका सदस्य एवम् संरक्षण केन्द्रको अध्यक्ष गीता महतले जानकारी दिईन् ।