दुलेगौडा । शुक्लागण्डकी नगरपालिकामा कार्यरत कर्मचारीहरुले बन्दीपुर गाउँपालिका वडा नं. ६ मा कार्यरत वडा सचिव नविन भूषाल माथि वडाका वडा अध्यक्षले भौतिक आक्रमण गरेको घटना प्रति आपत्ति जनाएका छन ।
मंगलबार सम्पूर्ण कर्मचारीहरुले एक विज्ञप्ति जारी गर्दै अभिभावकको समेत भूमिका रहने जनप्रतिनिधिबाटै कर्मचारी असुरक्षित हुनु आफैमा गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन । विज्ञप्तिमा “प्रतिनिधिमूलक लोकतन्त्र नागरिकबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि र योग्यता प्रणालीबाट छनौट भएका कर्मचारीबाट संचालित हुन्छ । दुवै पक्ष बिचको असल कार्यसंस्कृति, सहभाव र सम्मानपूर्ण व्यवहारबाट मात्र सार्थक र उपलब्धीमूलक तवरबाट लोकतन्त्रको लाभ जनताको घरदैलोमा वितरण गर्न सकिन्छ । स्थानीय तहमा नागरिकको स्तरसम्म सेवा वितरणको महत्वपूर्ण कार्य जिम्मेवारीमा रहि अहोरात्र खटिने राष्ट्रसेवक कर्मचारी प्रति पछिल्लो समयमा साङ्घातिक आक्रमण गर्ने प्रवृती बढ्दै जानु निकै खेदजनक छ भने यसरी राष्ट्रसेवक कर्मचारी माथि गरिने दुर्व्यवहार, कुटपिटका घटनाहरुले समग्र कर्मचारीको मनोवलमा आघात पुगेको महसुस भएको छ । यस तर्फ संबद्ध सबै सरोकारवाला संवेदनशील रहनुपर्दछ ।” भनिएको छ ।
साथै बन्दीपुर गाउँपालिकामा भएको घटनाको सत्य तथ्यपूर्ण छानवीन गर्दै दोषीउपर प्रचलित कानुन बमोजिम हदैसम्मको कानुनी कारवाहीको सुनिश्चीतता तथा सेवाप्रवाहमा खटिएका कर्मचारीलाई उच्च मनोबलमा रही कार्यसम्पादन गर्ने कार्यवातावरण सिर्जना गर्न संबद्ध सबै पक्ष जिम्मेवार, चिन्तनशील र सजग रहन समेत हार्दिक अपिल गर्दै कर्तव्य पालनका शिलशिलामा घाईते हुनुभएका कर्मचारीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरीएको छ ।