दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रतियोगितात्मक माध्यमिक विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा सिकाइ मेला नेपाल पुलिस स्कुल प्रथम भएको छ । प्रतियोगितामा सहभागि २५ विद्यालयलाई पछि पार्दै प्रथम भएको हो । जितसंगै नेपाल पुलिस स्कुलले नगद १० हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालय द्धितीय, जनकल्याण माध्यमिक विद्यालय तृतीय, खैरेनि माध्यमिक विद्यालय र लिटल गार्डेन बोर्डिङ्ग स्कुल सान्त्वना भएको छ । प्रतियोगितामा द्धितीय हुने पञ्चमुनिले नगद ८ हजार र प्रमाणपत्र, तृतीय हुने जनकल्याणले नगद ६ हजार र प्रमाणपत्र साथै सान्त्वना हुने दुई विद्यालय खैरेनि र लिटल गार्डेनले नगद ४/४ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा नगर भित्रका सामुदायिक र संस्थागत गरी २६ विद्यालयको सहभागि रहेको थियो । विद्यार्थीले उक्त सिकाइ मेलामा नेपाली, गणित, सामाजिक, अङ्ग्रेजी र विज्ञान विषयसंग सम्बन्धीत शैक्षिक सामग्री प्रदर्शन गरेका थिए । उक्त सामग्रीमा स्थानीय स्तरमा नै पाईने ‘कम मूल्य पर्ने र मूल्य नपर्ने’ वस्तुहरुको प्रयोग भएको थियो ।
शुक्लागण्डकी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक (राजु), प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादे, वडा नम्बर ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, वडा नम्बर ६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, शिक्षा शाखा प्रमुख नवराज चापागाई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालक शिक्षा शाखाका शिक्षा अधिकृत शुसिल नराल रहेका थिए ।