पोखरा । गण्डकीमा पछिल्लो २४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या एक महिनायताकै कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । मंगलबार मृत्यु हुनेमा स्याङ्जाका २ जना र कास्कीका एक जना छन् । यो संख्या साउन तेस्रो सातायताकै सबैभन्दा कम हो । यसअघि साउन १९ गते गण्डकीमा २ जना संक्रमितको मृत्यु भएको थियो । त्यसयता घटिरहेको मृत्युदर फेरि उकालो लागेको थियो भने संक्रमण दर पनि उच्च बनेको थियो । साउन १९ यता मात्रै गण्डकीमा १ सय ९० जना संक्रमितले ज्यान गुमाएका छन् ।
हालसम्म कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या एक हजार २ सय ९३ पुगेको छ । पछिल्लो एक हप्तादेखि कोरोना संक्रमितको संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ । सोमबार प्रदेशभर १ सय ७० जनामा कोरोना संक्रमण देखिँदा ३ सय ३ जना संक्रमणमुक्त भएका छन् । आइतबार २३० जना संक्रमित थपिँदा ५ सय ४ जना संक्रमणमुक्त भएका थिए ।
संक्रमित निको हुने संख्या बढेसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । साउन अन्तिम साता ६ हजारसम्म पुगेका सक्रिय संक्रमित अहिले ३ हजार २ सयमा झरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माका अनुसार कुल संक्रमितमध्ये २ हजार ९ सय होम आइसोलेसनमा छन् । अझै ३ सय ७१ जना अस्पतालमा उपचाररत छन् ।
साउनको अन्तिममा गण्डकीमा कोरोना संक्रमण दर सँगै मृत्युदर पनि उच्च बनेको थियो । उक्त समय एकैदिन १२ जनासम्म संक्रमितले ज्यान गुमाएका थिए । प्रदेशभरका कोरोना उपचार गर्ने अस्पतालका बेडहरु भरिएका थिए ।
संक्रमितको संख्या बढेपछि कास्की, बागलुङ लगायतका जिल्लामा निषेधाज्ञामा कडाइ गरिएको थियो । कोरोनाको दोस्रो लहरमामात्रै गण्डकीमा १ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । सोमबारसम्म कास्कीका मात्रै ५ सय ९५ जना संक्रमितले ज्यान गुमाका छन् ।