हरि खरेल/बेलचौतारा । विश्वकै दुर्लभ रोग इस्पाइनल मस्कुलर एट्रोपी (एसएमए) बाट ग्रसित तनहुँको शुकलागण्डकी नगरपालिका—५ बेलचौताराका ९ महिने बालक उस्मान अलीको उपचारका लागि आर्थिक सहयोगहरु जुट्न थालेको छ । सोमबार शिलादेवी युवा क्लबले पनि अलीको उपचारको लागि ३३ हजार ६ सय ३० रुपैयाँ सहयोग गरेको छ ।
क्लब र टोलभित्रका संघसंस्था, समाजसेवी र आम नागरीकबाट प्राप्त रकम उस्मानको उपचारको लागि सहयोग गरेको क्लबका अध्यक्ष सजोग घलेले जानकारी दिए । आपत परेको बेला सहयोग गर्नु सबैको दायित्व रहेको हुदाँ क्लबले पनि अभियान संञ्चालन गरि सहयोग रकम संकलन गरेको बताए ।
क्लबका अध्यक्ष घले सहीत कोषध्यक्ष सन्तोस श्रेष्ठ, सदस्य निशान थापा मगर र होमबहादुर श्रेष्ठले उस्मानको घरमै पुगेर संकलित रकम उस्मानका हजुरआमा सहिदुन निशा मिहालाई हस्तान्तरण गरेका थिए ।
पारिवारीक स्रोतका अनुसार अलीको उपचारका लागि करिब २६ करोड रुपैयाँ लाग्ने बताएको छ । जुन सामान्य नेपालीको पहुँच भन्दा बाहिर रहेकाले सहयोगका अपिल गरेको छ । यो रोगको उपचारका लागि जोल्जेन्स्मा नामक औषधि दिइने छ । साथै यो औषधि विश्वकै महँगो औषधि मा पर्ने हुदाँ सहयोगको लागि अपिल गरेको हो । पारिवारीक स्रोतका अनुसार उस्मान अलीको उपचारको लागि हालसम्म २३ लाख रुपैयाँ बढी संकलन भएको छ ।