हरि खरेल/दुलेगौँडा । तनहुँ जिल्लाको व्यास नगरपालिका-५ पतेनीस्थित बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको छाला, खप्पर र हड्डी सहित तिन व्यक्ति पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय, तनहुँबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार बेलुका शंकास्पद गतिविधि गरी रहेका तीनजना व्यक्तिहरुलाई पक्राउ गरि चेकजाच गर्ने क्रममा बाघको छाला, खप्पर र हड्डी सहीत पक्राउ परेको प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
पक्राउ पर्नेमा व्यास नगरपालिकाका—६ सिरुवारी बस्ने ३९ बर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिकाका—१ ओखल्दी बस्ने ४० बर्षीय सन्जित गुरुङ र सोही वडाकौ रतनपुर बस्दै आएका ३२ बर्षीय सन्तोष गुरुङ रहेको प्रहरी निरिक्षक क्षेत्रीले बताए । व्यास नगरपालिका—६ का अर्जुन श्रेष्ठबाट ५ फिट ७ इन्च लम्बाई २ फिट ५ इन्च चौडाई भएको बाघको छाला थान–१, ३ फिट लम्बाई १ फिट ५ इन्च चौडाई भएको बाघको छाला थान १ साथमा बा ४९ प ५९२३ नं.को डियो स्कुटर, मोवाइल र नगद एक हजार रुपैयाँ बरामद गरिएको छ ।
इसै गरि शुक्लागण्डकीका सन्जित गुरुङको साथबाट बाघको शरीरको बिभिन्न भागको सानो ठुलो गरी जम्मा १ सय २२ वटा हड्डीहरु साथमा पल्सर बाईक, मोवाइल र दुई हजार बरामद गरिएको छ । साथै सोही वडाकै सन्तोष गुरुङको साथबाट पल्सर बाईक, मोबाईल साथमा ३ हजार ५ सय २५ रुपैया बरामद गरिएको प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक क्षेत्रीले बताए ।
निज तिनै जनाबाट बाघको छाला, दाँत, हड्डी र खप्पर लगायतका वस्तुह बरामद गरी निज उपर थप अनुसन्धानका लागी जिल्ला बन कार्यालय, दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।