दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-१ र २ लाई जाेड्ने गुवेखाेला मेटरेबल पुलको उद्घाटन गरिएको छ । बुधबार आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिर व्यवस्थापन समितिकाे प्रथम वार्षिकोत्सबकाे अवसरमा उक्त पुलको उद्घाटन गरिएको हाे ।
कार्यक्रममा बाेल्दै नगरपालिकाका मेयर कृष्णराज पण्डितले जनताको माग र आवश्यकता बमोजिम गुवेखाेलामा पुल निर्माण गरिएको बताए । पुलले दुई वडाका जनतालाई आवतजावत गर्न साथै स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहयाेग पुर्याउने बताए ।
गुवेखाेला पुल २२ लाख लागतमा निर्माण सम्पन्न भएको हाे । उक्त पुल नगरपालिकाकाे २० लाख, १ लाख उपभोक्ताले, १ लाख बराबरको जनश्रमदानमा उक्त पुल निर्माण सम्पन्न भएको हाे ।
समितिका अध्यक्ष दिपेन्द्र भण्डारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरप्रमुख पण्डित, उपप्रमुख खुमबहादुर विक (राजु), शुक्लागण्डकी-१ का अध्यक्ष रविचन्द्र भण्डारी, शुक्लागण्डकी-२ का अध्यक्ष सुमनबहादुर राना, शुक्लागण्डकी-११ का अध्यक्ष शालिकराम भट्टराई लगायतको उपस्थिति रहेको थियाे भने समितिका सचिव सञ्जय ढकालले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।