हरि खरेल/दुलेगौँडा । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय तनहुँले फरार प्रतिबादीको खोजि कार्यलाई तिब्रता दिदै आएको छ । भदौको १ गते देखी ९ गतेभित्रमा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी रहेका ८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
मंगलबार लागु औषध मुद्दामा विगत २ बर्ष अघिदेखी फरर रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको म्याग्दे गाउँपालिका–६ शेराटार बस्ने ३० बर्षीय सुरेश तामाङ रहेको प्रहरी नायव उपरिक्षक तिमिल्सिनाले जानकारी दिए । निज तामाङ ३ महिना कैद ५ हजार रुपैया जरिवाना भुक्तानि नगरी फरार रहेका थिए । यसै गरि लागु औषध मुद्दामै विगत २ बर्ष अगाडीदेखी फरार रहेका २३ बर्षीय दिपक राइ बुधबार (आज) पक्राउ परेका छन् । निज राईले १ महिनाको कैद सजाय कबुल नगरि फरार रहेका थिए । उनलाई आज विहान प्रहरीले पक्राउ गरेको तिमिल्सिनाले जानकारी दिए ।
यसै गरी जारी मुद्दामा बिगत १३ बर्षदेखी फरार रहेका १ जना व्यक्ति, जुवा मुद्दामा बिगत ४ बर्षदेखी फरार रहेका १ जना, सार्वजनिक अपराध मुद्दामा बिगत ६ बर्षदेखी फरार रहेका २ जना, लेनदेन मुद्दामा फरार रहेका १ जना, सवारी ज्यान मुद्दामा बिगत ४ बर्षदेखी फरार रहेका १ जना गरी जम्मा ६ जनालाई भदौको १ गते देखी ९ गतेभित्र पक्राउ गरि २० हजार १ सय ५० रुपौया जरिवाना सहित जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।