दुलेगौडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना मनाईएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी क्षेत्रपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, कास्की, तनहुँ लगायत नेवार समुदायका मानिसहरुले धुमधामका साथ मनाएको छ ।यसै बिच तनहुँको शुक्लागण्डकी नगरपालिका भित्र पनि गाईजात्रा विशेष कार्यक्रम गरेको छ ।
नगरपालिका क्षेत्रभित्र निकालिएको झाँकी, लाखेनाच सहित मनाएको गाईजात्रा पर्वको तस्विरहरु ।




