बेलचौतारा । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा रहेको सोलार फर्म प्रा.लिले आज (मंगलबार)देखी विधुत उत्पादन सुरु गरेको छ । प्रा.लिले नेपाल विधुत प्राधिकरणसंग सन् २०१९ जुलाईमा विधुत उत्पादन गर्ने शर्तसहित पिपिए सम्झौता गरी आयोजना सुरु गरेको थियो । सोही अनुरुप कार्य गर्दा कोरोना महामारीका कारण समयमा नै कार्य समपन्न गर्न सकेको थिएन । पछि अनुकुल वातावरण सिर्जना भएसंगै आयोजना समपन्न गरी प्रा.लिले आजदेखी राष्ट्रिय प्रसारण लाईनमा ५ मेगावट विद्युत जडान गरेको हो ।
उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले सोलार आयोजनाबाट विधुत उत्पादनको उद्घाटन गरेकी छिन् । सोही अवसरमा बोल्दै भुषालले केबल उर्जा भनेको बत्ती बाल्नको लागि मात्र नभई डलर तिरेर ल्याईएको डिजेल—पेट्रल, एल.पि ग्याँसलाई क्रमश विस्तापित गरेर नेपालको व्यापार घाटाई पनि न्यूनिकरण गर्न तर्फ अगाडी बढ्ने बताईन । मन्त्री भुषालका अनुसार आफु मन्त्रालयमा आएको २५ दिनपछि गरिबीको रेखामुनी रहेका जनतलाई २० युनिटसम्म विद्युत खपतलाई निशुल्क गराउने निर्णय गरेको छ, जसबाट नेपालभरीमा साढे २८ लाख परिवार अर्थात १ करोड ४० लाख जनता लाभन्वित हुने छन् ।

४३ करोड रुपैयाँ लगानी आयोजनाबाट विद्युत उत्पादन गर्न सफल रहेको आयोजनाका निर्देशक शंकरजंग गुरुङले बताए । निर्देशक गुरुङका अनुसार भानुभक्त बहुमुखी क्याम्पसको एक सय रोपनी भाडामा लिएको जग्गा १३ हजार ५ सय सोलार प्यानल जडान गरी विधुत उत्पादन थालेका छ । कम्पनीले २५ बर्षसम्मको लागी क्यामपस प्रशासनसंग जग्गा लिने सम्झौता गरेको छ । उक्त सम्झौता सकिएपछि पनि फेरी पाँच बर्ष उपभोग गर्न पाउने उल्लेख छ ।

आयोजनाबाट बार्षिक ८७ लाख युनिट विधुत उत्पादन हुने जनाईएको छ । पिपिए सम्झौता अनुसार यहाँ उत्पादित ५ मेगावटसम्म विधुत प्रति युनिट ७.३० रुपैयाँमा नेपाल विधुत प्राधिकरणले खरिद गर्नेछ । ५ मेगावट बढी भएमा प्रतियुनिट ३.६५ रुपैयाँका दरले आयोजनाले प्राधिकरणलाई विक्री गर्नुपर्ने सम्झौता गरिएको छ । ६ बर्षमा लगानी सुरक्षित हुने कम्पनीको दाबी छ । सोलार आयोजनाको निर्माण भारतिय कम्पनी रेनेर्गोले गरेको हो ।
