अंग्रेजहरुको शासनका बखत उनीहरूको ज्यादतीबाट भारतीय जतना मात्रै नभई अङ्ग्रेज सैनिक मातहत रहेर काम गर्ने भारतीय सैनिक समेत चिढिएका थिए । त्यस बखत सेनाले इनफिल्ड राइफलमा नयाँ कारतूस प्रयोग गर्नुपर्थ्याे, जसमा गाई र सुँगुरको बोसो दलेर चिल्लो बनाइएको हल्ला फैलियो। दाँतले टोकेर कारतूस लोड गर्न अङ्ग्रेजले आदेश दिन्थे, तर हिन्दू-मुस्लिम सैनिकहरूले यसलाई आफ्नो धर्म भाँडी इसाईकरण गर्न खोजेको अर्थमा लिए।
त्यसै क्रममा अग्रेजले आफ्नो धर्म बिरोधी कार्य गर्न आदेश दिएको भनि बङगाल दस्ताका एक सिपाही मंगल पाण्डेले अग्रेजी सैनिक कमान्डरको हत्या गरिदिए । सो घटना पछि आदेश नमान्ने केही सिपाहीलाई अङ्ग्रेजले तत्कालै तोपले उडाइदिए भने मंगल पाण्डेलाइ फासीको सजाय दिइयो । त्यसपछि अग्रेज सरकार मातहत कार्य गरेका भारतीय सैनिक र बेलायती सैनिक बिच घमासान लडाइँ चल्न थाल्यो । यसरी कारतूसको निहुँले भारतका शहरमा सैनिक विद्रोह फैलिन पुग्यो ।‘आफ्नो साम्राज्यमा सूर्यको कहिल्यै अस्त नहुने’ आव्हान बोकेका ब्रिटिशहरू सिङ्गो भारतीय शक्ति एकढिक्का हुँदा पराजयको सँघारमा पुगिसकेका थिए। दङ्गा शुरू भएको केही दिनपछि नै जंगबहादुरले सिपाही विद्रोहबारे सुन्नासाथ नेपालको सम्पूर्ण सैनिक बल ब्रिटिश सरकारको हातमा सुम्पिदिने प्रस्ताव राखे ।
ब्रिटिश सरकारले सैनिक बिद्रोह साम्य पार्न जंगबहादुरको सहयोग माग्यो ।सैन्य सहयोगको माग हुनासाथ जंगबहादुरले तत्काल सेना खटाए। विभिन्न स्थानमा भारतीय विद्रोही सेनालाई हराउँदै उनीहरु बिद्रोह असफल तुल्याइदियो र भारतमा अग्रेज उपनिबेशलाइ टिकाउन सफल बनाइदिए । त्यसपछि जङ्गाबहादुरले बेलायती सरकारबाट राजा सरहको हैसियत र सम्मान बटुले। सुगौली सन्धिमा गुमेका तराईका केही भूभाग (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) सन् १८६० अर्थात् बि.स. १९१७ मा फिर्ता ल्याए जसलाई ‘नयाँ मुलुक’ भन्ने गरिन्छ ।