हिमा पोख्रेल

सृष्टिको लागि आमा जस्तै मानवका लागि प्रकृति उत्तिकै अपरिहार्य छ । विकास र समृद्धि व्याख्या गर्ने विषय भन्दा पनि अनुभुत गर्ने विषय रहेछ । जुन चिज पनि प्राप्त गर्दा जस्तो आनन्द मिल्छ गुमाउदा उति नै पिडा हुन्छ । प्राकृतिक रुपमा हुने घटनालाई सामान्य रुपमा नै स्वीकार गर्नुपर्दछ तर विकास सगै भित्रिएका नयाँ र नौला प्रकृतिका रोगहरुले वर्तमान सामाजिक परिवेशमा त्रासदी फैलाएको छ । कतिपय कलिलै उमेरका मानिसहरुको मृत्युले आश्रित वर्गमा ठुलो बज्रपात पर्न गएको छ भने कतिपय बालबालिकाहरुले आफ्नो मातृत्व र पितृत्वको वात्सल्यता गुमाउन पुगेका छन ।
कोभिडको प्रसंगमा वर्तमान मानव जगतको थोरै तुलना गर्ने जमर्को गर्दै गर्दा दु्रतगतिमा भएको विकासको श्रेय मानिसलाई नै जान्छ । तर वर्तमान समयले मानिसका हर चिज खोसिरहेको छ । एउटा बन्द कोठामा आफन्त छटपटिदै गर्दा समिपमा पुगेर सान्त्वनाका हात थमथमाउने अवस्था समेत खोसिएको छ । पर्दाको जन्ती र मर्दाका मलामी समेत प्राप्त गर्न नसक्ने गरि मानिसलाई एउटा संक्रमणले घुडा टेकाईसकेको छ । मानिस भन्दा ठुलो प्रकृति रहेछ । मानिसले प्रकृतिलाई दास सरी आफु अनुकुल स्वरुप परिवर्तन गर्नु कालान्तरमा गएर मानव जगतको अन्त्यलाई निम्तो दिनु हो । विकासका मोडलहरु दिनानुदिन फेरिएका छन तर बातावरणमैत्री विकासमा कसैको ध्यान पुगेको देखिदैन ।
अहिलेको विकासलाई आवश्यकताले भन्दा पनि चाहानाले पछ्याएको अनुभुत गर्न सकिन्छ । मासलाई भन्दा पनि व्याक्ति विशेषलाई हेरेर विनियोजन हुने योजना कत्तिको दिगो हुने हुन त्यो पक्ष सोचनिय नै छ । सरकारका अंगहरु विचपनि शक्ति पृथकीकरण र सन्तुलनको जुन सिद्धान्त छ त्यो सिद्धान्तको मर्म अनुकुल अभ्यास नभएको हो कि जस्तो पनि लाग्छ । निर्णय प्रक्रिया जटिल बन्दै गएको छ । सामान्य विषयको निर्णयमा पनि अब अदालतको सहयोग लिनु पर्ने बाध्यताले हामीले बनाएको नीतिको व्याख्या र कार्यान्वयन नियमसंगत नहुनुलाई इंगित गर्दछ ।
कोभिडको प्रभाव सबै जसो क्षेत्रमा परेको छ । बिशेष गरि शिक्षा क्षेत्र धेरै नै प्रभावित बन्दै गएको छ । प्रविधिमैत्रि विकासको एजेण्डा जुन रुपमा अघि बढ्नु पथ्र्यो त्यसरी नबढेको कारण आज हाम्रा बालबालिकाहरु को कलिलो दिमागमा पब्जि र फ्रि फायर जस्ता घातक खेलको नसा चढेको पाईन्छ भने युवा वर्गमा टिकटकमा आफ्नो उर्जाशिल समय व्यतित गरेको देखिन्छ । अनलाईन कक्षाहरु पनि औपचारिकता निभाउने बहाना मात्र सिद्ध भएका छन । अनलाईन कक्षाको बहानामा बालबालिकाले मोेबाईल प्रयोग गर्ने समय बढेर गएको पनि प्रष्टै छ । निदाउने केही घण्टा बाहेकको समय बालबालिको साथि मोबाईल बनेको छ । यसले पारिवारिक सम्बन्ध,माया,स्नेह,भेटघाट,छलफल र अन्र्तक्रियालाई निमिट्यान्न नै पारिदिएको छ ।
बाहिर हेर्दा कोभिडको परिणाम स्वरुप केही संक्रमित,केही मृत्यु र केही अर्थतन्त्रमा परेको प्रभाव मात्रलाई अध्ययन गरेको देखिन्छ तर यसको प्रभाव निकै लामो समयसम्म रहने छ । भोलिको नेपालका संवाहक हाम्रा जुनियर पुस्तामा ज्ञान आर्जन प्रक्रिया कत्तिको फराकिलो छ भन्ने प्रसंग अहिले सबैको चासोको विषय बन्नुपथ्र्यो । कोभिडले निकै लामो समयसम्म हाम्रो विकासका नेतृत्वलाई असक्षम बनाउदै कालान्तरमा सुन्य बरावर बनाउने विषयलाई पनि आकलन गर्नु पर्दछ । कुरा कोभिडको मात्र होईन हामिले अझै धेरै परिणती भोग्नुपर्नेछ । विकशित राष्ट्रले गरेको विकास सग सगैको विनासले निम्त्याउने यस्ता नियती कति भोग्नुपर्ने हो त्यो त भविष्यले नै बताउने छ ।
हामीले जे जस्ता चुनौतीहरु आएतापनि सामाना गर्न डटेर लाग्नु बाहेक अर्को विकल्प छैन तर पनि प्रकृतिमैत्री विकास ,बजेट,योजना र कार्यक्रम लाई सबैले प्राथमिकतामा राख्न सकेमा विकासबाट विनास होईन समृद्धि आउने कुरामा विश्वस्त रहन भने सकिन्छ ।
(लेखक शुक्लागण्डकी नगरपालिकामा प्रशासकीय अधिकृत (सातौ तह) मा कार्यरत छन । )