अझै केही आशंका र संशय भए पनि कांग्रेस महाधिवेशनको गर्मी बढ्दै गएको छ। पुर्वनिर्धारित कार्यक्रम बमोजिम तालिका परिवर्तन नभए आगामी साउन १२ गते वडा र १६ गते स्थानीय तह अधिवेशन तोकिएको हुँदा अधिकांश केन्द्रीय नेताहरू केन्द्रमै अलमलिए पनि जिल्ला , स्थानीय तह , वडा र गाउँ गाउँमा पार्टीका नेता कार्यकर्ता आन्तरिक गुट बलियो पार्ने सल्लाहका लागि गाउँ टोलमा सल्बलाउन , चलमलाउन थालिसकेका छन् । पार्टीका विभिन्न तहका समितिमा पदाधिकारी र क्षेत्रीय प्रतिनिधिका अाकांक्षीहरु बारे चासो , चर्चा , छलफल , बहस शुरु भएको छ। कतिपय आकांक्षीहरुले म फलानो समितिको फलानो पदमा रहेर काम गर्न इच्छुक छु भनेर आफ्नो चाहना सार्वजनिक गरिसकेका छन् भने कतिपयलाई तँ फलानो पदमा बस्नुपर्छ वा उठ्नुपर्छ भनेर उचालिएको, उक्साइएको र सुर्याइएको पनि छ। कतिपय अझै बेला भएको छैन भनेर चुपचाप छन् , कतिपयलाई पछि सल्लाह गरौंला अहिले चुप भनेर थुमथुम्याइएको पनि छ। कति अाफ्नै स्वेच्छाले उठेका वा उठ्ने घोषणा गरेका छन् भने कति त अर्कैको चाहनामा उभिएका छन् , अर्कैले चर्चामा ल्याइदिएका वा एक्सपोज गरिदिएका छन् ।
यसरी आकांक्षा व्यक्त गरेका ,दावेदारी वा उम्मेदवारी प्रस्तुत गरे गराइएकाहरु मध्ये केही अपवाद बाहेक प्राय सबै सँग आफु त्यो पदमा किन जाँदैछु र गएर के गर्छु भन्ने ठोस योजना र कार्यक्रम हुँदैन । गुटको स्वार्थ नै प्रमुख ठानी निर्देशित तवरले एकोहोरिएर काम गर्ने बानी लागेकाहरुको खोपडीमा पार्टी संगठनलाई कसरी अघि बढाउने , कसरी सुदृढ र व्यवस्थित तुल्याउने ? लोकतन्त्र र आन्तरिक लोकतन्त्र भनेको कुन चराको नाम हो ? पार्टी भित्र फरकमत र फरक बिचारलाई कसरी सम्मान, समन्वय , तालमेल र व्यवस्थापन गर्ने भन्ने बिचार र दृष्टिकोण अटाउँदैन सायद । अमुक नेता वा गुटको स्वार्थमा खडा हुने र गराइने पात्रहरूसंग आफ्नो छुट्टै अडान , स्वाभिमान , विवेक र सिर्जनशीलता नहुनु अनौठो पनि मानिँदैन । यो गलत हो , म गलत बाटो हिँडेको छु भनेर जान्दाजान्दै पनि सही ठाउँमा पाइला टेक्न नसक्नेहरु गोटी हुन् , गोटीलाइ मालिकले उचालेर राखिदिनुपर्छ कतै , आफै अघि बढ्दैन , ठाउँ सर्दैन गोटीले , साँच्चै हो – गोटीसंग आफ्नै दिमाग हुँदैन । यिनलाई पार्टी र गुटको फरक सम्म थाहा हुन्न , आफुभन्दा अलग गुटमा रहेकालाइ बैरी , दुश्मन ठान्छन्, ईर्ष्या , डाह र प्रतिशोधका कारण यौटा पनि गुण, बिशेषता , योग्यता देख्दैनन् । बरु बिरोधि पार्टीका संग मिलेर फरक गुटमा रहेका अाफन्तको खोइरो काड्छन् , शेखी झार्छन्, सके राजनीति सिध्याइ दिन्छन् । गोटीले गुट मात्र जान्दछ । उसले बिचार , पार्टी , पद्धति र संस्कृति जान्दैन यसर्थ आसन्न महाधिवेशनमा गोटी बनाउने र बन्नेबाटबाट पार्टीलाई जोगाउनु अहिलेको अहं दायित्व हो ।
अहिले देशको राजनीति फोहोर छ । नीति र विधि थला परेको छ । जनता निराश , बिलखमन्न छन् । जता हेरयो उतै बेथिति छ । यसलाई सम्हाल्ने दायित्व र जिम्मेवारी कांग्रेसको हातमा छ। तर कांग्रेसपनि भरपर्दो र भरोसायोग्य देखिन , सावित हुन जरुरी छ । अहिलेसम्मको गतिविधिले ढुक्क हुन सकिएको छैन । कांग्रेससले आफुलाइ सुधार गर्न जरुरी छ। आसन्न चौधौँ महाधिवेशन ऐतिहासिक र अन्तिम अवसर बनेर सामुन्ने खडा छ।
कांग्रेसजनले समयको पदचाप सुन्न र बुझ्न जरुरी छ । हरेक तहका नेता कार्यकर्ता बिबेकशील र जिम्मेवार बन्नुपर्छ । बिगत र अहिलेसम्म भएका कमजोरी र ठक्करबाट पाठ सिक्नुपर्छ , चेत आउनुपर्छ। कठोर आत्म मुल्यांकन र आत्म समीक्षा गर्नुपर्छ। स्वार्थ र संकीर्णता छाडेर अापसमा , सबैमा प्रेम , सद्भाव र सहृदयता बाँड्नुपर्छ । असल गुणको कदर ,असल मान्छेको सम्मान गर्न सक्नु र सिक्नुपर्छ । सल्लाह , सहयोग , समन्वय , सहकार्यको पद्धति अनिवार्य गर्नुपर्छ। संवाद , समीक्षा र स्वीकारको कार्यशैली अंगाल्नुपर्छ , स्वीकारले अाफ्नो पनि स्वीकार्यता बढाउँछ भन्ने कुराको आत्मबोध हुनुपर्छ । संवादहीनताले उत्पन्न हुने भ्रम र संशय झाङ्गिन हुन्न , उखेल्नुपर्छ । नेतृत्व र जिम्मेवारीको बितरण गुटबन्दी र भागबन्डामा होइन व्यवस्थापनमा आधारित पद्धति र मापदण्ड सुनिश्चित हुनुपर्छ । नेता वा व्यक्ति होइन नीति , विधि , बिचार , सिद्धान्त प्रधान हुनुपर्छ । देशको र पार्टीको पनि प्रणाली माथि धेरै प्रहार भएको छ, निकै कमजोर तुल्याईएको छ यसलाई सुदृढ पार्नुपर्छ, कानुनी शाशन र संवैधानिक सर्वोच्चता हात्तीको देखाउने दाँत जस्तै भएको छ, सुनिश्चितता जरुरी छ। बिधिको पालन गर्नेले मात्र बिधिको रक्षा गर्न सक्छ । कांग्रेस यसमा चुक्नु हुँदैन ।
कांग्रेसको महाधिवेशन सन्निकट हुँदोछ । यो महाधिवेशनको छुट्टै र बिशेष महत्त्व छ। निश्चितरूपमा नेतृत्व चयनको कर्मकाण्ड मात्र यो होइन र हुनुहुँदैन । अब परम्परागत हिसाबले पार्टीलाई हाँक्ने , स्वाभाविक प्रकृयामा अस्वभाविक तत्व हावी गराएर नेतृत्व कब्जामा लिने प्रयत्न र अभ्यास दोहोरिने खतरा तर्फ सबै सजग सचेत रहनुपर्छ । उस्तै पात्र, उस्तै प्रवृत्तिको पुनरावृत्तिले परिस्थिति जटिलता मात्र होइन बिसर्जनतर्फ जाने कुरा निश्चित जस्तै भएको छ। मुलुक र मुलुकबासी सामु देखा परेका चुनौती र संभावित दुर्घटनाबाट जोगिन , जोगाउन काङ्ग्रेस महाधिवेशनले लिने नीति ,बिचार , सिद्धान्त र यसले ल्याउने नेतृत्वको अहं भुमिका रहने कुुरामा हरेक तहका कांग्रेस नेता कार्यकर्ताले गम्भीर हुनुपर्छ । हरेक तहको नेतृत्व छनौट र चयनमा पद , शक्ति , पैसा , गुट , जात, संप्रदाय आदि परम्परागत तत्वको प्रभाव र दबाबबाट मुक्तभइ विधि र पद्धति बलियो पार्ने , योग्यता , क्षमता , योगदान भएका बैचारिक र परिवर्तनकारी व्यक्तिहरुलाइ नेतृत्व र जिम्मेवारीमा पुर्याउने तर्फ प्रतिवद्द कटिबद्ध बन्नुपर्छ । हिजो नेतृत्वमा रहनेहरुले के गरे, कसरी गरे , पार्टी , संगठन र पद्धति निर्माणमा तिनको भुमिका कस्तो रह्यो ? लेखाजोखा र मुल्यांकन हुनुपर्छ । नयाँ आउनेसंग पनि के योग्यता, क्षमता , योजना र संभावना छ त्यसको समेत हिसाब किताब गुन्नुपर्छ। पद र जिम्मेवारीमा आउन , बस्न चाहने संग नयाँ सोच,योजना र कार्यक्रम हुनुपर्छ । संगठनको आबस्यकता र अपेक्षाको संवोधन गर्न सक्ने गरि सुधार र बिकासको सपना बोकेको हुनुपर्छ । आउँदो महाधिवेशनले काङ्ग्रेसका साथै सिङ्गो मुलुकलाइ नयाँ उर्जा ,,नयाँ दिशा दिन सक्नुपर्छ । नयाँ परिस्थितिमा काङ्ग्रेसले बिगतमा अख्तियार गरेको सिद्धान्तको नयाँ व्याख्या सहित नयाँ बिचार , दृष्टिकोण , रणनीति , कार्यनीति , व्यवहार र शैली सुनिश्चित गरि राजनीतिक परिवर्तन र सामाजिक आर्थिक रुपान्तरणलाई नयाँ आयाम दिन सक्नुपर्छ । केन्द्र देखि वडा सम्मको नेतृत्व यस्ता बिषयको योजना र कार्यान्वयनमा जोडिएको हुने भएकोले काङ्ग्रेसका हरेक तहका नेता कार्यकर्ताको महाधिवेशनमा हुने सहभागिता र निर्णय महत्त्वपूर्ण रहन्छ ।
( लेखक नेपाली कांग्रेस केन्द्रीय संघीय मामिला तथा प्रदेश समन्वय बिभाग सदस्य हुनुहुन्छ )