दुलेगौंडा । कोअपरेटिभ म्यानेजर क्लब शुक्लागण्डकीको संयोजकमा नेपाल बचत तथा ऋण सहकारीका व्यवस्थापक मिलन पौडेल चयन भएका छन् । नगरभित्र रहेका करिब २५ वटा विभिन्न सहकारी संस्थाका व्यवस्थापकहरुको दुलेगौंडामा सम्पन्न भेलाले पौडेलको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको सहसंयोजकमा बाबुराम देवकोटा, सचिवमा सुरज लम्साल, कोषाध्यक्षमा सरस्वती शर्मा अधिकारी र सदस्यमा मनोज प्रधान र मार्टिना कुमाल चयन भएकी छिन् ।
भेलामा सहभागी व्यवस्थापकहरुले सहकारी क्षेत्रमा पछिल्लो समय देखा परिरहेका चुनौती, व्यवस्थापनमा आवश्यक दक्षता, सदस्य सेवाको गुणस्तर तथा सहकारी संस्थाको दीगो विकासका विषयमा छलफल गरेका थिए । नवगठित तदर्थ समितिले संस्थाको विधान निर्माणका लागि ३ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको छ । उक्त समितिले आवश्यक कानुनी प्रक्रिया पूरा गरी चाँडै नै क्लबलाई शुक्लागण्डकी नगरपालिकामा विधिवत् दर्ता गर्ने तयारी अघि बढाउने जनाएको छ ।













