टुकादेबी आचार्य
ज्युँदा सहरहरुमा
मरेका रहरहरु
ओछ्याएर रङहीन विचारहरु
के तिम्रा संगीन आरोपहरुको किनारा लाग्ला?
तिम्रा बनावटी डन्लपे ओछ्यानहरुमा
निथ्रुक्क भिजेका सिरानीहरुमा
कयौं सपनाहरुको अन्त्य हुँदा
तिमी खेलिरहन्छौ एकोहोरो
निर्जीव शरीरसँग
चुपचाप सहन्छे ऊ
तिम्रा कठोर प्रहारहरु
तब पो तिमी आफ्नो पुरुषत्व भेट्छौ
मेट्छौ यौवनका तिर्खाहरु
समीकरण नमिलेको हिसाबमा
न त एक्सको मूल्य
न त वाइको मूल्य निस्कन्छ
निस्कन्छ त केवल अन्डिफाइन भ्याल्यु
सयकडा पचास प्रतिशतको व्याजदरमा
अभिभावकत्वको स्याज असुल्न खोज्छौ
अनि बिग्रन थाल्छ तिम्रो र उसको सबन्धको हिसाब
न समय,
न व्याजदर,
न त वास्तविक व्याजको क्याल्कुलेट हुन्छ
जब सयको सांवामा शुन्यहरु झुन्डयाउन थाल्छौ
तिमी एकोहोरो बेहिसाब गरिरहँदा
उसले चुपचाप सहिरहनुपर्ने
न सम्झौता छ
न स्वीकृति छ
तथापि तिम्रा आरोपहरुवीच
बाँचिरहन्छे ऊ
अचाहनावीच ओछ्यान बनिरहँदाका क्षण
ब्याज असुल्न सक्दिन ऊ
तिमीसँगका अन्तरंग बसाईहरुको
परिणाममा बतासे शिशुको जन्म हुँदा
आफ्नै घाँटी रेट्न सक्दिन ऊ
वाध्यतावश धुन पुग्छे खोल्साहरुमा तिम्रो रगत
तिम्रो जिउँदो उपहारको प्राण हरण गरेर
जन्मकैदको सजायँ भोगिरहेकी छे ऊ
सयकडा हजारको ब्याज थोपेरेपछि तिमीले
चुक्ताका लागि भोगिरहेकी छे ऊ
आजकल तिम्ले खोज्ने ओछ्यानहरुमा भेटिन्न ऊ
हो,ऊ आजकल तिम्रो ओछ्यानमा भेटिन्न
पटक्कै भेटिन्न ….