दमौली । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) तनहुँले सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार फोनिज तनहुँले नेपाल पत्रकार महासंघ तनहुँ शाखा मार्फत महासंघलाई ज्ञापन पत्र र स्व.श्रेष्ठको तस्बिर बुझाएको हो ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको प्रमाण हुँदा हुँदै कृष्णप्रसाद भट्टराइलाई संस्थापक अध्यक्ष भनेको भन्दै फोनिज तनहुँले असहमति जनाउदै आएको छ । ‘२००८ साल वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ, तर २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बनेका थिए । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको भन्दै २०१२ सालमा महासंघको नेतृत्व गर्ने स्व.भट्टराईप्रति अनादर वा अवमूल्यन गर्न नभई इतिहासलाई नबंग्याइ तथ्य स्थापित गर्नुपर्दछ’ भनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
फोनिज तनहँका अध्यक्ष किरण श्रेष्ठले नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल मार्फत महासंघलाई ज्ञापन पत्र बुझाएका थिए । महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलका अनुसार तत्काल केन्द्रिय समितिमा ज्ञापन पत्र पठाउने बताए ।