दुलेगौंडा । शुक्लागण्डकी युवा क्लबले आयोजना गरेको दोस्रो एसइइ कपको उपाधि छात्रतर्फ अमरज्योती माध्यमिक विद्यालय थप्रेक र छात्रातर्फ कृष्ण माध्यमिक विद्यालय घिरिङ हात पारेको छ ।
शनिबार भएको छात्रतर्फको फाइनल खेलमा अमरज्योतीले रघु माध्यमिक विद्यालय भिमादलाई २–० को सोझे सेटमा पराजित गर्दै उपाधि हासिल गरेको हो । जितसंगै अमरज्योतीले नगद ३० हजार साथम शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेत बनेको रघु माविले नगद २० हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी छात्रातर्फको फाइनल खेलमा कृष्ण माविले बालविकास मावि भिमादलाई पराजित गर्दै उपाधि हात पारेको छ । जहाँ कृष्ण माविले बालविकासलाई २–० को सेटमा पराजित गरेको थियो । प्रतियोगिताको विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा छात्रतर्फ २३ विद्यालय ३१ टिम र र छात्रा तर्फ ७ विद्यालयको सहभागीता रहेको छ । प्रतियोगितामा तनहुँ जिल्ला लगायत स्याङ्जा, कास्की, चितवनसम्मका विद्यालयको सहभागीता रहेको पञ्चमुनिदेव माविका सूचना अधिकारी लक्ष्मण पुरीले जानकारी दिए ।
शुक्लागण्डकी युवा क्लबको आयोजना, पञ्चमुनिदेव माविको सहआयोजना र शुक्लागण्डकी–४ को आर्थिक व्यवस्थापनमा भएको प्रतियोगिताको विजेतालाई शुक्लागण्डकी–४ का वडाध्यक्ष राजकुमार वाग्ले, क्लबका अध्यक्ष मीन बहादुर थापा, पञ्चमुनिदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक एकनारायण भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता जेठ १५, १६ र १७ गते पञ्चमुनिदेव माध्यमिक विद्यालयको प्राङ्गणमा भएको थियो ।