एक नारायण भण्डारी
सेतो बादल !
दुनियाँ देख्छ काला बादलुको परिधिमा
जनता देख्छ सेता बादलुको बिचमा
कालो बादल !
बङ्करमा हिटलरी स्वयम्वर
जब बर्सन्छ रिमझिमरिमझिम
नयाँ गर्भाशयमा
ठिङ्ग उभिएको सिख्रो बरले
डाहा गर्छ सदाबहार समीको
आखिर डाहा न हो
बरका कामुक नजर
तप्प तप्प चुहिन्छन्
न समीलाई जहर
न समीलाई रहर ।
×××××××××
हिजो विपीको सालिकमा माला
आज पुष्पको सालिकमा माला
न त्यहाँ समाजवाद देखियो
न त्यहाँ जनवाद देखियो
अलिकता डनवाद
अलिकता धनवाद
न माला जनको रहर
न भेला जनको रहर
जनको रहर त समाजवाद थियो
जनको रहर त जनवाद थियो ।
×××××××××
रित्ता चुलाहरू
नाङ्गा पाउहरू
उजाड मनहरू
पिपलपाते नयाँ राजनीतिले
न आगो बाल्न सक्यो
न चप्पल दिन सक्यो
न मलम लगाउन सक्यो
आफ्नै चुलो बाल्यो
आफ्नै जुत्ता छान्यो
आफैँ पाँचतारेमा रमायो
विपीवादीलाई देखेर लिङ्कन रुँदा हुन्
पुष्पवादीलाई देखेर मार्क्स रुँदा हुन्
गान्धी , मन्डेला , फिडेल रुँदा हुन्
आफ्नै चेलाचपेटाका कर्तुत देखेर
विपी र पुष्प पछुताउँदै रुँदा हुन् ।
×××××××××××××
सालिक निर्माण गर
सम्मानका लागि
माला पहिर्याऊ
श्रद्धाका लागि
कसम खाऊ
जनताका लागि
आस्था राख समाजवाद र जनवादमा
झुपडी हाँस्नेछ
भोको पेट अघाउनेछ
छानोले घामपानी छेक्नेछ ।
जनको रहर त समाजवाद हो
जनको रहर त जनवाद हो
प्रवाहशील नदी जस्तै
प्रवाहित जनलहर
आस्था र विश्वासमा बाँच्नेछ
सच्चा श्रद्धाञ्जली हुनेछ ।