तनहुँ । एसियन गेम्सको टि–२० पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मांगोलीया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै जित हासिल गरेको छ ।
चिनको हांगझाउमा भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाले टस जितेर फिल्डिंग रोजेपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी ३१४ रन बनाएको थियो ।
खेलमा बनेका विश्वविश्वकीर्तिमान
सबैभन्दा ठूलो योगफल : ३१४ रनको योगफल टि(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि देशले बनाएको सबैभन्दा ठूलो योगफल हो। पहिलो पटक कुनै देशले टि(२० अन्तर्राष्ट्रियमा तिन सय रनको योगफल पार गरेको हो। यस अघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध तथा चेज रिपब्लिकले टर्की विरुद्ध सन् २०१९ मा २७८ रनको योगफल बनाएका थिए जुन रेकर्ड नेपालले पछि पारेको हो।
सबैभन्दा छिटो शतक : खेलमा देब्रे हाते ब्याट्सम्यान कुशल मल्लले ३४ बलमा शतक पुरा गर्दै विश्वरेकर्ड बनाए। यस अघि अस्ट्रेलियाका डेभिड वार्नर, भारतका रोहित शर्मा र चेज रिपब्लिकका एस विक्रमसेकराले ३५ बलमा शतक बनाउदै यो रेकर्ड बनाएका थिए जसलाई कुशलले पछि पारेका हुन्।
सबैभन्दा छिटो अर्धशतक : युवराज सिंहले २००७ मा इंग्ल्यान्ड विरुद्ध बनाएको १२ बलको अर्धशतकको रेकर्ड तोड्दै दिपेन्द्र ऐरीले नयाँ विश्वरेकर्ड बनाएका छन्। ऐरीले मात्र ९ बलमा अर्धशतक पुरा गरेका हुन्। यस क्रममा उनले सामना गरेको पहिलो ६ बलमा छक्का गरेका थिए।
सबैभन्दा ठूलो साझेदारी : खेलमा तेश्रो विकेटको लागि कुशल मल्ल र रोहित पौडेलले गरेको १९३ रनको साझेदारी टि(ट्वान्टी अन्तर्राष्ट्रियमा तेश्रो विकेटको लागि सबैभन्दा ठूलो साझेदारी हो। न्युजिल्यान्डका ग्लेन फिलिप्स र डेभोन कन्वेले वेस्टइन्डिज विरुद्ध २०२० मा १८४ रनको साझेदारी गरेका थिए जुन रेकर्ड टुटेको हो।
सबैभन्दा ठूलो रन अन्तरको जित : नेपालको २७३ रनको जित टि(ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो रन अन्तरको जित हो। यस अघि यो रेकर्ड चेज रिपब्लिकको नाममा थियो जसले २०१९ मा टर्कीलाई २५७ रनले पराजित गरेको थियो।
सर्वाधिक छक्का : नेपालले खेलमा प्रहार गरेको २६ वटा छक्का टि(ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै एकै इनिंग्समा प्रहार भएको सर्वाधिक छक्का हो। यस अघि यो रेकर्ड अफगानिस्तानको नाममा थियो जसले आयरल्याण्ड विरुद्ध २०१९ मा २२ छक्का प्रहार गरेको थियो।