दुलेगौंडा । आँखा पाक्ने रोग फैलिएपछि शुक्लागण्डकी नगरपालिका भित्रका विद्यालयहरु बन्द हुन थालेका छन् ।
नगरपालिका भित्रको पञ्चमुनीदेव माध्यमिक विद्यालय र खैरेनी माध्यमिक विद्यालयले रोगको प्रकोप फैलावट न्यूनिकरण गर्नका लागि विद्यालय बन्द गरेको हो । पञ्चमुनी देव माविले साउन २२ र २३ गते र खैरेनी माविले साउन २२, २३ र २४ गतेसम्म विद्यालय बन्द गर्ने भएको छ । उक्त विदा हिउँदे विदाबाट कट्टीगर्ने विद्यालयले जनाएको छ ।
पञ्चमुुनीदेव माध्यमिक विद्यालयले यसअघि साउन १९ र २० गते पनि विद्यालय बन्द गरेको थियो । विद्यालयका ११÷१२ संयोजक लक्ष्मण पुरीले आँखा पाक्ने रोग धेरै विद्यार्थीहरुमा देखीएको हुदाँ रोगको प्रकोप फैलन कम गर्न विद्यालय नै बन्द गर्नुपरेको बताए ।
शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ढालबहादुर मगरका अनुसार एक्कासी आँखा रातो हुने, आँखा चिलाउने, आँसु बग्ने, आँखा सुन्निने लक्षणहरु आँखा पाक्ने रोगका लक्षण हुन । लक्षण देखा परेमा बेला बेला सफा पानीले आँखा सफा गर्ने, कालो चस्माको प्रयोग गर्ने, जथाभावी रुपमा आँखा छुने र चलाउने कार्य नगर्न स्वास्थ्य शाखा प्रमुख मगरले अनुरोध गरे ।