दुलेगौंडा । समयमा पानी नपर्दा तनहुँमा धान रोपाइँ गतबर्षको तुलनामा कमी आएको छ । हालसम्म तनहुँ जिल्लामा ८१ प्रतिशत कृषियोग्य जमीनमा रोपाई भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । तर साउनको आधाआधि समयसम्म आईपुग्दा जिल्लामा ८१ प्रतिशत क्षेत्रमा मात्रै रोपाई सक्किएको छ । यसको प्रमुख कारण नै समयमा पानी नपर्नु र किसानहरुलाई आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने बाध्यता रहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।
तनहुँमा हालसम्म चुँदि फाट, साँखे फाट, साँगेफाट र मान्द्रे फाटमा समयमा नै रोपाईै भएको बताए । कतिपय ठाउँमा भने आकाशे पानीको भरमा रोपाइँ गरिएको उनको भनाई छ ।
तनहुँमा धान खेतीका लागि उपयुक्त ८ हजार हेक्टर क्षेत्रफल मध्य हालसम्म ६ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख तिवारीका अनुसार गतबर्षको तुलनामा कम रोपाई हुने बताए ।