काठमाडौं । नेपालले एसिसी यू १६ इस्ट जोन कपको उपाधि हात पारेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । यो संगै नेपालले लगातार तेस्रो पटक उपाधि जितेको छ ।
फाईनल खेलमा जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो । मलेसियाका लागि मोहम्मद अक्रमले १० रन बनाए । नेपालको जितमा कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । सागर गैरेले ५ ओभरमा १३ रन खचेर १ विकेट लिए ।
नेपालको जितमा शीर्षक्रमका ब्याटर नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । प्रतियोगितामा ओपनर निरज यादवले ४७ रन, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । नेपालले २६ रन अतिरिक्त पायो ।
यसअघि नेपालले २०१७ र २०१९ मा पनि यू१६ को उपाधि जितेको थियो । यसअघिको दुई संस्करण भने यू१६ रिजनको नामले थिए ।