दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब २८ करोड ३१ लाख ३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । आइतबार १३ औँ नगर सभामा नगर उप प्रमुख खुमबहादुर वि.क राजुले आगामी वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका हुन् । नगरपालिकाले चालु आर्थिक बर्षमा भन्दा ६ करोड १४ लाख ७१ हजार १८० रुपैयाँ बढि बजेट ल्याएको छ । चालु आव नगरपालिकाले १ अर्ब २२ करोड १६ लाख ३१ हजार ८ सय २० रुपैयाँ बजेट ल्याएको थियो ।
उक्त अनुमानित बजेटमध्येबाट पुर्वाधार विकासतर्फ ४५ प्रतिशत, सामाजिक विकास तर्फ ३० प्रतिशत, आर्थिक र वातावरण विकासमा १०/१० प्रतिशत र सुशासनलाई ५ प्रतिशत बजेट विनियोजन गर्ने भएको छ ।
नगरपालिकाका मेयर कृष्णराज पण्डितको सभापतित्वमा भएको कार्यक्रममा नगरसभाका सदस्य र कर्मचारी तथा पत्रकारहरु सहभागि थिए । प्रस्तुत नीति तथा कार्यक्रम माथि छलफल गर्न आगामी १४ गते पुनः नगर सभा बस्ने भएको छ ।